काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
संयोजक प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै विशेषगरी मधेशलगायत देशका विभिन्न क्षेत्रमा मल अभावका कारण किसानहरू ठूलो समस्यामा परेको बताएका हुन्। सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको उनको भनाइ छ।
उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको प्रचण्डले उल्लेख गरेका छन्।
नेपालमा रासायनिक मल आयातको प्रक्रिया जटिल भएकाले समयमै पूर्वतयारी आवश्यक पर्ने भन्दै उनले आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको गम्भीरतालाई बुझेर समयमै मल आपूर्ति र वितरण गरेको स्मरण गरेका छ।
प्रचण्डले सरकारले रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्नुपर्ने बताएका छन्। साथै, आगामी वर्षका लागि समेत आवश्यक पूर्वतयारी गर्न र मलको अभाव दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने उनको आग्रह छ।
उनले कालोबजारी तथा बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा रासायनिक मल वितरणको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
“रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समेत तयारी गर्न तथा कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न आग्रह गर्दछु,” विज्ञप्तिमा भनिएको छ।


















प्रतिक्रिया