काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सोमबार भएको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश नारायणप्रसाद पौडेल तथा सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीलाई १५ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश दिएको हो ।
भ्रष्टाचार मुद्दामा बयान तथा थुनछेक प्रयोजनका लागि कार्की विशेष अदालतमा उपस्थित भएका थिए । बयानपछि भएको थुनछेक बहसका क्रममा अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले उक्त मुद्दामा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ ।
मुद्दामा कार्कीसहित विभिन्न व्यक्तिलाई विमानस्थल निर्माण प्रक्रियामा अनियमितता तथा राज्यलाई आर्थिक क्षति पुर्याएको आरोप लगाइएको छ । अब मुद्दाको बाँकी प्रक्रिया विशेष अदालतमा अघि बढ्नेछ।


















प्रतिक्रिया