काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति १२ः३० बजे जनकपुरमा उनको निधन भएको डा. राजेन्द्र विमल प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार अवधेश पोखरेलले जानकारी दिए ।
मुटुसम्बन्धी समस्याबाट पीडित डा. विमल लामो समयदेखि प्राध्यापन तथा साहित्य सिर्जनामा सक्रिय थिए । नेपाली तथा मैथिली साहित्यमा महत्वपूर्ण योगदान दिएका उनी बहुभाषिक स्रष्टा, प्रखर चिन्तक तथा साहित्यिक क्षेत्रका उत्प्रेरक व्यक्तित्वका रूपमा परिचित थिए ।
नेपाली साहित्यमा सक्रिय अनुज पुस्ताका सर्जकहरूलाई उनले निरन्तर प्रेरणा र मार्गदर्शन दिँदै आएका थिए । उनको निधनले नेपाली तथा मैथिली साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यिक क्षेत्रका व्यक्तिहरूले बताएका छन् ।
भानु प्रतिष्ठान, काठमाडौंले विज्ञप्ति जारी गर्दै नेपाली तथा मैथिली साहित्यका विशिष्ट साधक, प्रखर चिन्तक एवं बहुभाषिक स्रष्टा डा. विमलको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रतिष्ठानले उनको निधनले साहित्यिक क्षेत्र स्तब्ध र मर्माहत भएको जनाएको छ ।
डा. विमलका एक छोरी र दुई छोरा छन् ।


















प्रतिक्रिया