३ कार्तिक २०८३, मंगलबार | October 21, 2026

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण



गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण बनेको छ । गोरखा भूकम्पपछि पहाड खोपेर निर्माण गरिएको उक्त पुल यस वर्षको वर्षायाममा माथिबाट ढुङ्गा खसेपछि क्षतिग्रस्त भएको हो ।

पुल जीर्ण भएपछि चुमनुब्री-६ र वडा नं ७ का बासिन्दालाई आवतजावतमा जोखिम भएको छ । केही दिनअघि पहाडबाट खसेको ठूलो ढुङ्गाले पुलमा क्षति पु¥याएको चुमनुब्री-६ लोक्पाका सेराप गुरुङले जानकारी दिए ।

चुमनुब्री-६ का कार्यवाहक वडाध्यक्ष ठिले ग्याजो लामाले पुलको छेउका केही जिप भत्किएको र पुललाई आड दिएका ढुङ्गासमेत खसेको बताए । उनका अनुसार केही दिनअघि पुलको डेक, छेकबार तथा रेलिङमा प्रयोग गरिएको तारजालीमा क्षति पुगेको छ ।

“पहिले पनि बेलाबेलामा ढुङ्गा खस्ने समस्या हुँदै आएको थियो । अब पर्यटक आउने र चाडपर्वको समय सुरु हुन लागेकाले पुल जतिसक्दो छिटो मर्मत गर्नुपर्छ”, उनले भने ।

सदरमुकामबाट टाढा रहेको चुमनुब्री-६ को लोक्पामा निर्माण गरिएको क्यान्टिलिभर पुल वडा नं ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका बस्तीमा पुग्ने प्रमुख माध्यम हो । समयमै पुल मर्मत नगरे स्थानीयवासीलाई थप समस्या हुने चुम्लिङका गोपाल लामाले बताए ।

“पुल नहुने हो भने गाउँपालिकाको केन्द्र फिलिम पुग्न हामीले अर्को बाटो घुमेर एक दिन थप यात्रा गर्नुपर्छ । बिरामी तथा घाइतेलाई झनै समस्या हुन्छ”, उनले भने ।

ढुङ्गा खसेपछि चुमनुब्री-७ छेकम्पारको चौँरीखर्क खण्डसमेत जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन् । छेकम्पार पुग्न चौँरीखर्कको भिर हुँदै जानुपर्ने र माथिबाट ढुङ्गा खसिरहँदा बाटोमा लगाइएको तारबारसमेत भत्किएको स्थानीय गोपाल लामाले बताए ।

हालै छेकम्पारसँग तिब्बत जोड्ने नाकासमेत खुलेको छ । नाका खुलेपछि स्थानीयले तिब्बततर्फ दैनिक उपभोग्य सामग्री खरिद-बिक्री गर्न जाने गरेका छन् । तर, ठाउँठाउँमा बाटो जोखिमपूर्ण बनेकाले आवतजावतमा समस्या भएको लोक्पाका सेराप लामाले बताए ।

उनले जोखिम मोलेर आवतजावत गर्नुपरेको बताउँदै सडक र पुल समयमै मर्मत नगरे पर्यटकीय मौसममा थप समस्या हुने उल्लेख गरे ।

क्यान्टिलिभर पुल मर्मतका लागि चुमनुब्री गाउँपालिकाले बजेट विनियोजन गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए । उनका अनुसार गाउँसभाको निर्णयबाट पुल मर्मतका लागि रु १५ लाख विनियोजन गरिएको छ ।

“पुलको अवस्था जोखिमपूर्ण छ । अहिले मानिस र खच्चड जोखिम मोलेर आवतजावत गरिरहेका छन्”, उनले भने, “अबको केही दिनभित्रै पुल मर्मतको काम सुरु हुन्छ ।”

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ८ : ०८ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट