काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
बुधबार बिहान दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित जिलोङ सीमा नाकामा नेपालतर्फको पहिरोका कारण मानवीय क्षति भएको घटनापछि राष्ट्रपति सीले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारमा सम्पूर्ण प्रयास गर्न निर्देशन दिएका हुन् ।
सीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण तथा पुनःस्थापना र घाइतेहरूको तत्काल उपचारलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । सम्भावित मानवीय क्षति कम गर्न उपलब्ध सबै स्रोत र संयन्त्र परिचालन गर्न उनले आग्रह गरेका छन् ।
उनले बाढी तथा पहिरोजस्ता विपद्का लागि अनुगमन र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन, वैज्ञानिक ढंगले उद्धार कार्य सञ्चालन गर्न तथा सम्भावित दोस्रो विपद् रोक्न आवश्यक सावधानी अपनाउनसमेत निर्देशन दिएका छन् ।
‘हामी अहिले बाढी रोकथामका लागि महत्वपूर्ण समयमा छौं । सबै क्षेत्र र सम्बन्धित विभागहरूले बाढी तथा आँधीबेहरी रोकथामका सबै उपाय इमानदारीपूर्वक लागू गर्नुपर्छ,’ सीको निर्देशन उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।
सीले जोखिम तथा लुकेका खतराको पहिचान र न्यूनीकरणलाई तीव्र बनाउन तथा ठूला विपद् र दुर्घटना रोक्दै नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नसमेत जोड दिएका छन् ।
यसैगरी, चिनियाँ प्रधानमन्त्री ली छियाङले पनि घटनामा बेपत्ता तथा प्रभावित व्यक्तिको संख्या तत्काल यकिन गर्न र उद्धार तथा राहतका लागि आवश्यक संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन् ।
लीले जोखिममा रहेका नागरिकलाई तत्काल र व्यवस्थित रूपमा सुरक्षित स्थानमा सार्न तथा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।
उनले चीनको विदेश मन्त्रालयलाई सम्बन्धित देशसँग सञ्चार तथा समन्वय थप मजबुत बनाउन, घटनाको अवस्थाबारे तत्काल जानकारी आदानप्रदान गर्न तथा उद्धार कार्य संयुक्त रूपमा समन्वय गरी अघि बढाउन निर्देशन दिएका छन् ।
चिनियाँ नेतृत्वको निर्देशनपछि उपप्रधानमन्त्री झाङ गुओकिङले उद्धार तथा राहत कार्यको प्रत्यक्ष समन्वयका लागि सम्बन्धित विभागका अधिकारीलाई घटनास्थलतर्फ परिचालन गरेका छन् ।
नेपालमा भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढी तथा पहिरोका कारण सीमावर्ती क्षेत्रमा समेत मानवीय तथा भौतिक क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
घटनापछि दुवै देशका सम्बन्धित निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहतका काम अघि बढाइरहेका छन् ।

















प्रतिक्रिया