८ कार्तिक २०८३, आइतबार | October 25, 2026

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय



काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका तथा बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्पसहित सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले विपद्को खोज तथा उद्धार, राहत, पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणलाई प्रभावकारी बनाउने गरी १० वटा निर्णय गरेको हो ।

बैठकले उद्धार तथा राहतका लागि दलका नेता तथा कार्यकर्तालाई मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय गरेको छ । बाढी प्रभावित नागरिकको उद्धार, राहत र व्यवस्थापनलाई तत्काल प्राथमिकतामा राख्ने सहमति पनि बैठकले गरेको छ ।

त्यस्तै, विपद्का नाममा संकलन हुने आर्थिक सहयोगलाई व्यवस्थित गर्न एकद्वार प्रणाली लागू गर्ने सहमति भएको छ । राहत तथा सहयोग वितरणमा दोहोरोपन र अव्यवस्था हुन नदिन यस्तो व्यवस्था आवश्यक रहेको दलहरूको निष्कर्ष छ ।

बैठकले हिमतालहरूको वैज्ञानिक अध्ययन तथा अनुसन्धानका लागि पहल गर्ने र हिमाली क्षेत्रमा सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने निर्णयसमेत गरेको छ ।

त्यसैगरी, बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण अभियान सञ्चालन गर्नुपर्नेमा दलहरू सहमत भएका छन् । विपद्बाट भएको ठूलो क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदाय तथा सम्बन्धित संस्थासँग सहयोगका लागि अपिल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिका बेला सबै राजनीतिक दल एक ठाउँमा उभिने विगतको परम्परालाई निरन्तरता दिँदै वर्तमान संकट समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार बैठकमा सरकारले गरिरहेको खोज, उद्धार तथा राहतका प्रारम्भिक कामबारे जानकारी गराइएको थियो । विभिन्न दलले प्राप्त गरेका विपद्सम्बन्धी सूचनासमेत सरकारलाई उपलब्ध गराएका थिए ।

थापाले अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत रहेको बताए । पुनर्निर्माणको काम लामो समयसम्म चल्ने र ठूलो आर्थिक क्षति हुने देखिएकाले त्यसको निरन्तर अनुगमन, सरकारलाई आवश्यक सुझाव तथा राजनीतिक दलहरूको संयुक्त परिचालनका लागि संसदीय संयन्त्र आवश्यक रहेको उनले बताए ।

बैठकले विपद्पछिको राहत वितरण र पुनर्निर्माणलाई प्रभावकारी बनाउन संसद्मार्फत विशेष समिति वा संयन्त्र गठन गर्ने प्रस्तावसमेत अघि सारेको छ । उक्त संयन्त्रमा संसद्मा प्रतिनिधित्व नभएका राजनीतिक दललाई समेत समेट्ने तयारी रहेको थापाले जानकारी दिए ।

विगतका विपद्मा प्रारम्भिक चरणमा उद्धार र राहतलाई प्राथमिकता दिइए पनि केही समयपछि सरकार तथा राजनीतिक दलहरूको ध्यान अन्य विषयतर्फ मोडिँदा पीडितहरू लामो समयसम्म अलपत्र पर्ने अवस्था देखिएको स्मरण गर्दै थापाले यसपटक त्यस्तो हुन नदिने बताए ।

सर्वदलीय बैठकले तत्कालीन उद्धार तथा राहतसँगै विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको विकास, दीर्घकालीन पुनर्निर्माण र अन्तर्राष्ट्रिय सहयोग परिचालनसम्मका विषयलाई साझा राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १२ : १८ बजे

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै