काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपति जरदारीले बुधबार सामाजिक सञ्जालमार्फत नेपालमा आएको आकस्मिक बाढी तथा पहिरोका कारण ज्यान गुमाएका र प्रभावित परिवारप्रति पाकिस्तानको तर्फबाट समवेदना व्यक्त गरेका हुन् ।
उनले बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, अझै सम्पर्कविहीन रहेकाहरू सुरक्षित रूपमा फेला पर्ने कामनासमेत उनले गरेका छन् ।
राष्ट्रपति जरदारीले विपत्तिको यस कठिन घडीमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा रहेको सन्देश दिएका छन् ।
यस्तै पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री इशाक डारले पनि नेपालमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले नेपाललाई आवश्यक सबै सम्भव सहयोग उपलब्ध गराउन पाकिस्तान तयार रहेको बताएका छन ।
डारले बाढीबाट बहुमूल्य जीवन गुमेको र व्यापक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति हार्दिक समवेदना, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित उद्धारको कामना गरेका छन् ।
नेपालमा बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका उत्तरी तथा मध्यपहाडी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका बस्ती तथा पूर्वाधारमा क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ ।

















प्रतिक्रिया