काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै हालैको बाढीपहिरोमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
पाकिस्तानी प्रधानमन्त्रीका अनुसार उनले शुक्रबार दिउँसो प्रधानमन्त्री शाहसँग कुराकानी गर्दै विनाशकारी बाढीपहिरोमा परी अमूल्य जीवन गुमाएकाहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्।
उनले विपत्तिका कारण भएको व्यापक क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन घडीमा पाकिस्तान सरकार र जनता नेपालसँग पूर्ण ऐक्यबद्धतामा रहेको बताएका छन्।
टेलिफोन संवादका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले नेपाललाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जारी उद्धार तथा राहत प्रयासमा योगदान पुर्याउन पाकिस्तानले आपत्कालीन राहत सामग्री नेपाल पठाउन लागेको जानकारी गराएका छन्।
नेपालका विभिन्न क्षेत्रमा आएको आकस्मिक बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। विपत्तिपछि नेपालमा उद्धार, राहत तथा पुनःस्थापनाका प्रयास जारी छन्।
पाकिस्तानको यो घोषणालाई विपत्तिको कठिन समयमा नेपाललाई प्राप्त अन्तर्राष्ट्रिय मानवीय सहयोगका रूपमा हेरिएको छ।















प्रतिक्रिया