२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

एसिसी प्रिमियर कप : उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य



काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।

नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।

समूह चरणमा नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी-यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ ।

हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो । प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई छ विकेटले हराएको थियो ।

नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । नेपाल र साउदी अरेबियाबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा भएकामा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो । यस्तै, ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक र हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको थियो ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसपटक प्रिमियर कपको उपाधि विजेता टोलीले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ । गत संस्करणको टी-२० ढाँचाको प्रिमियर कपबाट भने तीन टोली एसिया कपका लागि छनोट भएका थिए । सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट युएई, ओमान र हङकङ एसिया कपमा छनोट भएका थिए भने नेपाल चौथो स्थानमा सीमित भएको थियो ।

नेपालले पहिलो संस्करणको प्रिमियर कपको उपाधि जितेको थियो । सन् २०२३ मा घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । यसपटक पनि नेपाली टोली उक्त सफलता दोहो¥याउने लक्ष्यमा छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले नेपाल उपाधिको बलियो दाबेदार रहेको बताएका छन । विदेशी पिचमा खेल्नुपर्ने भए पनि प्रतियोगिताअघि पर्याप्त अभ्यासको अवसर पाएकाले नेपाली टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ ।

‘‘प्रतियोगिताअघि नेपाली टोलीले राम्रो अभ्यास पाएको छ । भारतमा गरेको प्रशिक्षणले पक्कै पनि एसिसी प्रिमियर कपमा टोलीलाई सहयोग मिल्नेछ । मुख्य प्रशिक्षक स्टुअर्ट लले हरेक अभ्यास खेललाई निगरानी गर्नुभएको छ । त्यसले पनि टोलीलाई केही फाइदा मिल्ने देखिन्छ,’’ चौधरीले रासससँग भने ।

टोलीमा रहेका नयाँ खेलाडी पनि राम्रो लयमा रहेको उनले बताए । ‘‘देव खनाल, आसिफ शेख, अर्जुन कुमाललगायतले अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका थिए । यसपटक पनि नेपालको बलियो पक्ष बलिङ नै हो,’’ उनले भने ।

मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालले एक सय ७१ रनको सामान्य लक्ष्य दिए पनि २७ रनको जित निकालेको उदाहरण दिँदै चौधरीले नेपाली टोलीको बलिङ पक्ष बलियो रहेको बताए । उनका अनुसार प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी ओमान र युएई हुन् ।

‘‘नेपालले घरबाहिर खेल्दैछ । केही चुनौती अवश्य छन् । तर, प्रतियोगिताअघि मलेसियाको पिचमा अभ्यास खेल खेलिसकेकाले खेलाडीहरू केही अभ्यस्त भइसकेका छन् । प्रतियोगितामा नेपालको प्रमुख प्रतिद्वन्द्वी ओमान र युएई हुन् । विगतमा पनि महत्वपूर्ण प्रतियोगितामा यी दुई टोलीले नेपाललाई केही समस्या दिएका छन्,’’ पूर्वखेलाडी चौधरीले भने ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ८ : १५ बजे

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी