काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेका हुन् ।
नेपालले बिहीबार भएको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भएको थियो ।
युएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो । फाइनलको विजेताले आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले दुवै टोलीका लागि उपाधि भिडन्त महत्वपूर्ण रहेको छ ।
नेपाल र युएई यसअघि पनि एसीसी प्रिमियर कपको उपाधिका लागि भिडिसकेका छन् । सन् २०२३ मा काठमाडौंमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । सन् २०२४ को दोस्रो संस्करणमा भने युएईले आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । तीमध्ये नेपालले ११ खेलमा जित हात पारेको छ भने युएईले ८ खेलमा बाजी मारेको छ ।
















प्रतिक्रिया