सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् ।
आज साँझ ६ः०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह हुँदा २१ वटा ढोका खोलिएका थिए । लगातार पानीको बहाव बढेर बेलुका ८ः०० बजे प्रतिसेकेन्ड एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २२ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।
हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि दिउँसोदेखि नै जलसतह बढिरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताए ।
साथै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचनामार्फत आग्रह गरेको छ ।
















प्रतिक्रिया