काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको ? यता हेर्नुस् त आमा, म त फर्केर आएको छु ।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झाए । आँखै अगाडि छोरालाई देख्दा पनि आमा प्रेमकुमारी ढकालका आँसु थामिएनन् । उनी केहीबेर घुक्कघुक्क गर्दै रोइरहिन् । घरमा सन्नाटा छाएको थियो । छोरा फर्किएको खुसीभन्दा मनमा त्रास बढेको थियो ।
“आमा, म त फर्केर आएँ, खरानीबाट उठेर आएँ…..”
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भदौ २३ र २४ गतेको ‘जेन्जी’ आन्दोलनको घटना क्रमलाई समेटेर लेखेको यो गीतको भावसँग गोरखा सिरानचोक गाउँपालिकाका निरजको कथा पनि मिल्छ । निरज बसका सहचालकका रूपमा काम गर्दै आएका थिए ।
भदौ १० गते बिहान करिब ४ः३० बजे उनी पालुङटार नगरपालिका–५ बाट ३६ यात्रु बोकेको पृथ्वी यातायातको ग२ख ११५२ नम्बरको बसमा रसुवाको गोसाइँकुण्ड यात्राका लागि निस्के ।
कहिले लोकगीत, कहिले आधुनिक त कहिले तीज गीत घन्काउँदै गाडी अगाडि बढिरहेको थियो । के थाहा यात्रुहरूलाई गाडीले गोसाइँकुण्ड नपु¥याउँदै मृत्युको मुखमा पु¥याउँदैछ । यात्रासँगै यात्रुको जीवन र मृत्युबीचको दूरी नजिक धकेलिरहेको थियो । बिहान बाढीले छोराले चलाउने गाडी नै बगायो रे भन्ने खबर आयो । त्यसपछि घरमा रुवाबासी नै चल्यो, परिवारले निरजको खबर पाउन सकेन ।
दिन बितिसक्न लाग्यो । छोराले फोन गर्छ कि भन्दै पटकपटक फोन हेर्दै बसेकी आमा प्रेमकुमारीको मुटुमा चिसो पस्न थाल्यो । छोरालाई पनि त्यही भेलले बगायो झैँ लाग्न थाल्यो । छोरा आउने आशा र डर मिश्रित आमाको मन छट्पटाउन थाल्यो । निरजको मोबाइल पनि गाडीसँगै भेलले बगाएको रहेछ ।
एकाएक समाचार आउन थाल्योः पालुङटारबाट आज बिहान गोसाइँकुण्डका लागि छुटेको गाडीमा सवार सहचालकसहित छ जनाले हामफालेर ज्यान जोगाए । खबर सुनेपछि पनि प्रेमकुमारीलाई छोराको आवाज नसुनेसम्म छोरा जिवित रहेको भन्ने निश्चित लागेन । साँझपख मात्रै निरजले कसैको फोन मागेर बुबालाई फोन गरेका थिए । “छोराले फोन गरेपछि बल्ल लामो स्वास फेरेँ । कहिले छोरो आउला र देखौँला ? जस्तो भयो । छोरा घर फर्केपछि खुसीले आँसु नै रोकिएन”, रुन्चे स्वरमा उनी भन्छिन्। भोटेकोशीको बाढीले धेरै परिवारका सपना बगायो । कसैलाई आफन्तविहीन बनायो, कसैको घरबार खोस्यो । तर निरजजस्ता केहीका लागि त्यो विनाशको बीचबाट घर फर्किनु पुनर्जन्म जस्तै बन्यो ।
बाढीलाई समान्य ठानियो
गल्छीमा नास्ता खाएर गाडी नुवाकोटतर्फ अघि बढ्यो । गल्छीमा नै हुँदा रसुवाबाट बाढी आएको छ रे भन्ने गाइँगुइँ कुरा सुनिएको थियो तर त्यस्तो महाविपत्ति होला भनेर कसैले पत्ताएनन् । यात्रुहरू आ–आफ्नै कुराकानीमा थिए । बाहिर घाम लागिरहेको थियो । त्रिशूली नदी पनि सधैँ झैँ आफ्नै गतिमा सुस्तरी बगिरहेको देखिन्थ्यो ।
नुवाकोटको भैँसे भन्ने स्थानमा पुगेपछि कसैले अचानक भन्यो, “बाढी आइरहेको छ, भागौँभागौँ ।” तर त्यो आवाजलाई कसैले गम्भीरतापूर्वक लिएनन् । “यस्तो घाम लागिरहेको छ, कसरी बाढी आउँछ ?” गाडीभित्र यात्रुबीच कुरा चल्यो । केही क्षणअघिसम्म सामान्य देखिएको वातावरण एकाएक बदलियो । गड्याङगुडुङको आवाज सुनियो । त्यो आवाज सामान्य थिएन । मानौँ कुनै ठूलो प्रलय आउनुअघि प्रकृतिले दिएको अन्तिम सङ्केत थियो ।
‘गाडी रोक, गाडी रोक !’ अचानक चर्को आवाज आयो ।
ढोका नजिकै बसेका सहचालक निरजले माथिबाट माटो, ढुङ्गा र लेदो मिसिएको ठूलो बाढीको छाल आउँदै गरेको देखे । उनले चालक सागर देवकोटालाई गाडी रोक्न भने । तर गाडी पार गरिहालिन्छ भन्ने सोचेर चालकले रोक्न नमानेको बताउँछन् निरज ।
त्यसपछि केही सेकेन्डमै सबैथोक बदलियो । “धुलोसहितको ठूलो बाढीको छाल देखेँ । दृश्य नै अर्कै थियो”, निरज सम्झिन्छन्, “चालकलाई मैले ‘भागौँ, बाढी आइसक्यो दाइ’ भनेँ । कटिहालिन्छ भनेर होला, ड्राइभर दाइले गाडी रोक्नै मान्नुभएन । म त ढोकाबाट हामफालेर माथितिर दौडेँ ।”
त्यहाँबाट तल फर्केर हेर्दा उनले देखेको दृश्य अहिले पनि आँखाबाट हटेको छैन । गाडी थिएन । गाडी सँगैसँगै भएका यात्रु बगाए । दैनिकजसो गााडीमा सँगै हिँड्ने चालकलाई निरजले हेरे । देखेनन् । केही क्षणअघि मानिसको चहलपहल रहेको सडक र वरपरको भूभाग हेर्दाहेर्दै बगरमा परिणत भइसकेको थियो । भेलसँगै बगिसकेको गाडीलाई निरज चाहेर पनि केही गर्नसक्ने अवस्थामा थिएन, न त्यहाँ अरू कसैले सहयोग गर्नसक्ने अवस्था थियो । “आफू बाँचेको खुसीभन्दा पनि आफूलाई माया गर्ने सागर दाइलगायत आफूसँगै आएका ३० जनाभन्दा बढी यात्रुलाई बाढीले बगाएको सम्झँदा धेरै दुःख लाग्छ”, निरज भन्छन् ।
अझै बाँकी छ मानसिक सन्त्रास
अहिले निरज घरमा आमा बासँग सुरक्षित छन् । र पनि अहिलेसम्म उनलाई मानसिक रूपमा सन्त्रास बाँकी नै छ । “त्यो घटनापछि बाबु राम्रोसँग बोलेको पनि छैन । हाँसेको पनि छैन । निरास देखिन्छ । खाना पनि रुचेन भन्छ”, सानिमा गङ्गा ढकाल भन्छिन्, “सबैभन्दा बाबुलाई चालकले माया गर्थे । उनलाई गुमाउनुपर्दा धेरै चिन्तित बनेको हुनसक्छ । अहिले पनि एकान्तमा बसेर टोलाइरहन्छन् ।” त्यो दृश्यले अझै झस्काइरहेको छ । निरजलाई सबै कुरा सपना जस्तै बनाएको छ ।
बाढीले निरजको स्मृतिमा एउटा यस्तो दिन छाडेर गयो, जसलाई सम्झना साथ अहिले पनि उनको मन काँप्छ । यात्रुहरूसँगै बिताएका केही क्षण, बाटोमा भएका कुराकानी र बाढी आउनुअघिको त्यो सामान्य वातावरण अहिले निरजको सम्झनामा बारम्बार दोहोरिन्छ । अहिले पनि त्यो दिनसँगै यात्रा गरेका अरू कति त फर्किएलान् भन्ने आशा लाग्छ तर दिन बित्दै जाँदा आशाको दियो पनि मधुरो बन्दै गएको बताउँछन् उनी ।
निराजलाई जस्तै अहिले आफन्त गुमाएका तथा हराइरहेका आफ्ना आफन्तका सम्झानाले सताइरहेको छ । उक्त गाडीमा सवार बद्री देवकोटा पनि हामफालेर बाँच्न सफल भए । रविन्द्र देवकोटाले पनि बाढीको भयावह दृश्य देखेपछि गाडीबाट हामफालेर ज्यान जोगाए । बचेर आउने अन्य रविन्द्र देवकोटा, तुलराम देवकोटा, बाबुराम देवकोटा, पार्वती न्यौपानेका लागि पनि उक्त घटना सम्झँदा अझै मन तर्सिरहेको छ । उनीहरुले पनि बाहिरको दृश्य देखेपछि गाडीबाट हामफालेर ज्यान जोगाएका थिए ।
पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले सम्पर्कविहीन तीर्थयात्रीको सकुशल उद्धारका लागि पालुङटार नगरपालिका निरन्तर रूपमा सम्बन्धित निकायसँग समन्वय र सहकार्यमा रहेको जानकारी दिए । “सबै तीर्थयात्रीको यथाशक्य सकुशल उद्धारका लागि पालुङटार नगरपालिका सम्पूर्ण प्रयासमा प्रतिबद्ध छ”, उनी भन्छन् ।
गाउँ नै शोकमा
एउटै गाउँबाट यात्रा गरेका मानिस एकैपटक बेपत्ता भएपछि पालुङटार–५ नै शोकमा डुबेको छ । सबैका घरका आँगन सुनसान छन् । आफन्तको खोजीमा रहेका परिवारका आँखामा आशा र पीडा सँगसँगै देखिन्छ । कसैको घरमा प्रियजन फर्केर आउने प्रतीक्षा छ, कसैको घरमा सनाखतको खबरले सन्नाटा छाएको छ ।
हिजोसम्म गाउँमा सुनिने हाँसो, कुराकानी र चहलपहलको ठाउँ अहिले फरक छ । बेपत्ता आफन्तको पर्खाइमा छन् कति । कति खोजमा व्यस्त छन् । अहिलेसम्म पनि सास पाइएको छैन । घाइते भएर कतै अड्किएको भए पनि कतिको त साता दिनसम्म उद्धार नहुँदा मृत्यु भइसक्यो कि भन्ने चिन्ता छ । सास नपाएपछि अव लास पाए पनि हुने भनेर कुर्दैछन् आफन्त ।
भोटेकोशी बाढीका कारण आफ्नै ठाउँका तीर्थ यात्रु सवार बगाएदेखि नै गाउँ नै शोकमा रहेको बताउँछन्, पालुङटार नगरपालिका–५ का वडाध्यक्ष दीपक पाण्डे । “उक्त गाडीमा ३६ जना यात्रु सवार थिए । तीमध्ये छ जना सकुशल सम्पर्कमा आएका छन् भने ३० जना अझै बेपत्ता छन्”, पाण्डे भन्छन्, “तीमध्ये कमला देवकोटा, केदार पण्डित, सुजता कौडाल, तारा रानाभाट र सुमी कुमालको सनाखत भइसकेको छ ।” बाढीले नदी किनार मात्रै बगाएन, यस गाउँको खुसी पनि सँगै बगाएर लगेको छ ।
















प्रतिक्रिया