२३ भदौ २०८३, मंगलबार | September 8, 2026

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर



लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा प्रभावित भएको छ ।

नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन् । यसअघि करिब पाँच-छ घण्टामा पूरा हुने यात्रा अहिले १२-१३ घण्टासम्म लाग्ने गरेको छ भने यात्रुको खर्चसमेत बढेको छ ।

भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि बेँसीसहरबाट काठमाडौं चल्ने माइक्रोबस तथा ठूला बस चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन् ।

लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढ्नुका साथै सवारीसाधन तथा यात्रुको सङ्ख्या घटेको छ । बेँसीसहर-काठमाडौं माइक्रोबसका चालक मुस्कान राईका अनुसार वैकल्पिक मार्गबाट काठमाडौं पुग्न पहिलेभन्दा धेरै समय लाग्ने गरेको छ ।

“बाटो लामो भएकाले समय पनि धेरै लाग्छ”, उनले बताए । बेँसीसहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४०-५० वटा माइक्रोबस काठमाडौं जाने गरेकामा अहिले पाँच-सात वटामात्र सञ्चालनमा छन् । यात्रु पनि अत्यावश्यक काम परेका मात्रै जाने गरेका छन् ।

सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा रु ९०० र विद्युतीय माइक्रोबसको रु ७०० रहेकामा अहिले क्रमशः रु दुई हजार र रु एक हजार ५०० पुगेको छ । यात्रु तथा सवारीसाधन घटेसँगै चालक तथा व्यवसायीको आम्दानीमा असर परेको छ । ठूला बसमा पनि यात्रुको सङ्ख्या घटेको छ । पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेँसीसहरबाट काठमाडौं दैनिक पाँच-छ वटा ठूला बस छुट्ने गरेकामा अहिले एउटा बसमात्र जाने गरेको छ । वैकल्पिक मार्गअनुसार भाडा फरक पर्ने भएकाले हाल निश्चित भाडा तोकिएको छैन ।

यसअघि सवारीसाधन अनुसार रु ९०० देखि रु एक हजार २०० सम्म रहेको भाडा अहिले दुई गुणाभन्दा बढी रहेको छ ।

सडक अवरोधको असर उपचारका लागि ‘रेफर’ हुने बिरामीको यात्रामा परेको छ । लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं, चितवन र पोखरा रेफर गर्ने गरिएको छ ।

काठमाडौं लैजानुपर्ने केही बिरामीलाई एम्बुलेन्समै घुमाउरो बाटोबाट लैजानुपरेको छ भने कतिपयलाई पोखरासम्म एम्बुलेन्समा पु¥याएर त्यहाँबाट हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको उनले बताए ।

यसले बिरामी र आफन्तलाई झन्झटसँगै उपचार खर्चसमेत बढाएको उनको भनाइ छ । बेँसीसहरकी प्रकृति श्रेष्ठले वैकल्पिक मार्गबाट यात्रा गर्दा समय र खर्च दुवै बढेको बताईन । उनी भदौ २० गते शनिबार काठमाडौंस्थित काम सकेर बेँसीसहर फर्किएकी थिईन । काठमाडौं जाँदा माइक्रोमा रु ९०० तिरेकी उनले फर्किंदा रु दुई हजार भाडा तिर्नुपरेको बताईन ।

“वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ । वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ”, उनले बताईन ।

नियमित मार्ग सञ्चालनमा नआएसम्म लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिमका कारण यात्रुले थप सास्ती खेप्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ६ : ५६ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा