वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका पूर्वकर्मचारी सञ्जय ठाकुरलाई आवश्यक कानुनी कारबाहीका लागि पर्सा ल्याउने तयारी गरिएको छ।
प्रहरीका अनुसार ठाकुरलाई मंगलबार काठमाडौंको शान्तिनगरबाट पक्राउ गरिएको हो। पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी चक्रबहादुर मल्लका अनुसार ठाकुरविरुद्ध गत असोज ४ गते ठगीसम्बन्धी मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ठाकुर लामो समयदेखि वीरगञ्जका विभिन्न घरजग्गा तथा आर्थिक विवादमा जोडिँदै आएका थिए। नबिल बैंक, एनआईसी एसिया बैंक, पूजन होटल र स्काइलाइन मलसँग सम्बन्धित जग्गा विवादमा समेत उनको नाम जोडिएको प्रहरीको भनाइ छ।
सर्लाहीको बलरा नगरपालिका–८ स्थायी घर भएका ठाकुर नापी कार्यालयका पूर्वकर्मचारी हुन्। सरकारी सेवामा रहँदा उनले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अधिकृत पदमा बढुवा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दासमेत सामना गरेका थिए।
उक्त मुद्दामा दोषी ठहर भएपछि उनले सरकारी सेवाबाट राजीनामा दिएको विवरण सार्वजनिक भएको छ।
सरकारी सेवामा प्रवेश गर्नुअघि ठाकुरले २०५१ सालमा तत्कालीन कृषि मन्त्री महन्त ठाकुरको सचिवालयमा काम गरेको तथा केही समय हुलाक कार्यालयमा करार सेवामा समेत कार्यरत रहेको बताइएको छ।
नापी कार्यालयको सेवा छाडेपछि उनी विभिन्न घरजग्गासम्बन्धी विवादमा मुछिँदै आएको आरोप लाग्दै आएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई पर्सा ल्याएर सम्बन्धित मुद्दामा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
















प्रतिक्रिया