२८ भदौ २०८३, आइतबार | September 13, 2026

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध



काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सहायक सडकखण्ड प्रभावित भएका छन् । कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी र समयगत रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको छ ।

नेपाल प्रहरी तथा सडक विभागका अनुसार बागमती प्रदेशका सडकहरू सबैभन्दा बढी प्रभावित भएका छन् । काभ्रेको बीपी राजमार्गअन्तर्गत कुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै समयगत रूपमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । उक्त सडकखण्डमा १० टनसम्मका मालवाहक सवारी रातिको समयमा मात्र सञ्चालन गर्न दिइएको छ । मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारीलाई भने तोकिएको समयतालिकाअनुसार सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलास्थित अरनिको राजमार्ग बाढी तथा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि अवरुद्ध छ ।

नुवाकोटका विभिन्न सडकखण्ड तथा पासाङल्हामु सडकमा समेत यातायात प्रभावित भएको छ । पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही गाउँपालिकाका अन्य केही स्थानमा भने सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा मर्मत कार्य भइरहेकाले सवारीको चापअनुसार पालैपालो एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ ।

यस्तै, कोशी प्रदेशको पाँचथरमा फालेलुङ गाउँपालिका–४ आसपास फिदिम–फालेलुङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गण्डकी प्रदेशको मनाङस्थित नासों गाउँपालिका–३ धारापानीमा चामे–बेँसीसहर सडकखण्डमा निर्माण कार्य भइरहेकाले यातायात प्रभावित भएको छ । उक्त सडकखण्डमा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने ठूला सवारीका लागि पनि निश्चित समय तोकेर सडक बन्द गर्ने गरिएको सडक विभागले जनाएको छ ।

लगातारको वर्षाका कारण सडकमा थप क्षति तथा पहिरोको जोखिम रहेकाले यात्रुले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ९ : १८ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब