नेपालगन्ज । नेपालगन्जमा रामलीला महामहोत्सवको १५९औँ शृङ्खला आइतबारदेखि सञ्चालन हुने भएको छ । ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित रामलीला महामहोत्सवको १५९औँ शृङ्खला आइतबारदेखि नेपालगन्जको रामलीला मैदानमा सञ्चालन हुने भएको हो ।
रामलीला सञ्चालक समिति, नेपालगन्जले आज पत्रकार सम्मेलन रामलीला मञ्चन गर्ने सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाले दस दिनसम्म सञ्चालन हुने रामलीला महामहोत्सवको मञ्चन नेपालगन्जस्थित रामलीला मैदानमा हुने बताए । कार्यक्रमको विधिवत् शुभारम्भ असोज २५ गते आइतबार दिउँसो २ बजे शोभायात्रासहित गरिने उनले जानकारी दिए । उनका अनुसार रामलीला मञ्चानको औपचारिक समुद्घाटन भने राति ८ बजे नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गर्ने कार्यक्रम तय भएको छ ।
अध्यक्ष कनोडियाले मञ्च, प्रकाश, कार्यक्रमस्थलको सरसफाइ तथा कलाकारहरूको बसोबास लगायतका व्यवस्थापनका काम भइरहेको जानकारी दिए । कलाकारहरूको सुरक्षालाई समेत विशेष प्राथमिकता दिइएको उनले बताए ।
समितिले दिएको जानकारी अनुसार हरेक दिन साँझ ८ बजेदेखि राति १२ बजेसम्म रामलीला मञ्चन गरिनेछ । भगवान् श्रीराम र माता सीताको जीवनमा आधारित विभिन्न धार्मिक तथा पौराणिक कथालाई नाटकीय रूपमा प्रस्तुत गरिने समितिले जनाएको छ । रामलीलाका क्रममा श्रीराम जन्मोत्सव, धनुष यज्ञ, रावण वध, भरत मिलाप र शुभ राज्याभिषेक लगायतका महत्वपूर्ण प्रसङ्ग आकर्षणका रूपमा रहने समितिका प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिए ।
यस वर्षको रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट राधारमणको नेतृत्वमा २५ जनाको कलाकार टोली नेपालगन्ज आइसकेको समितिले जनाएको छ । उक्त टोलीले विभिन्न धार्मिक पात्रको भूमिका निर्वाह गर्दै रामायणका महत्वपूर्ण प्रसङ्गलाई जीवन्त रूपमा प्रस्तुत गर्नेछ ।
१५८ बर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीला नेपालगन्जको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महोत्सव हो । यसले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै कला, संस्कृति र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ ।
गत वर्ष जेनजी आन्दोलनका कारण प्रतिकूल परिस्थिति उत्पन्न भएपछि मञ्चन हुन नसकेको रामलीलालाई यसवर्ष निरन्तरता दिन थालिएको हो । गतवर्ष रामलीला मञ्चनलाई स्थगित गरेर रावण दहन कार्यक्रम मात्र गरिएको थियो ।















प्रतिक्रिया