३ आश्विन २०८३, शनिबार | September 19, 2026

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यवहारिक कार्यान्वयन र संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको आवश्यकता रहेको बताएका हुन् ।

संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको उल्लेख गर्दै उनले संविधानका उपलब्धिको संरक्षणसँगै यसको पूर्ण कार्यान्वयनमा जोड दिएका छन् । संविधानको मर्मअनुरूप अघि बढ्न राष्ट्रिय एकता, सहकार्य र जिम्मेवारीबोधलाई सुदृढ गर्नुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार संविधानप्रदत्त अधिकारको कार्यान्वयन, सङ्घीयताको सुदृढीकरण र नागरिककेन्द्रित सेवाका लागि प्रतिबद्ध रहेको बताएका छन् । सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाहमा जोड दिइएको उनले उल्लेख गरेका छन् ।

प्रदेश सरकारले पूर्वाधार विकाससँगै कृषि, उद्यमशीलता, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक जागरण र नवप्रवर्तनलाई प्राथमिकताका साथ अघि बढाएको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

‘सङ्घीयता बलियो बनाउन प्रदेश बलियो हुनुपर्छ’ भन्दै उनले संविधानले प्रदेशलाई प्रदान गरेका अधिकार र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन गर्दै प्रदेशलाई सक्षम, उत्तरदायी र नागरिकको नजिकको सरकारका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

संविधानसभाबाट निर्माण भई २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको महत्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरेका छन् । संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नागरिकका मौलिक हक, सामाजिक न्याय, समानता, समावेशिता, कानुनी शासन र लोकतान्त्रिक मूल्य-मान्यतालाई सुनिश्चित गरेको उनको भनाइ छ ।

संविधान दिवसका अवसरमा मुख्यमन्त्री आचार्यले लोकतान्त्रिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा अपाङ्ग नागरिक, शहीद परिवार र बेपत्ता नागरिकका परिवारजनप्रति सम्मान प्रकट गरेका छन् ।

उनले संविधान दिवसले राष्ट्रिय एकता, सहकार्य र जिम्मेवारीबोधलाई सुदृढ गर्दै संविधानको मर्मअनुरूप अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ८ : ०६ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय