काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अन्तिम डिलमा पुगेको विश्लेषण गरेका छन् ।
पार्टीभित्र समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला खड्काले सम्भावित विभाजन रोक्न आफूहरूले अन्तिम प्रयास गरिरहेको बताएका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले सर्वोच्च अदालतमा विचाराधीन कांग्रेससम्बन्धी पुनरावलोकनको मुद्दालाई प्राथमिकताका साथ टुंग्याउन आग्रहसमेत गरेका छन् ।
‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ,’ खड्काले भनेका छन्, ‘पार्टीका आदरणीय सबै साथीहरू, तैपनि हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ।’
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला आफू त्यसमा सहभागी नभएको खड्काले स्पष्ट पारेका छन् । शनिबार र आइतबार वडा अधिवेशन सञ्चालन भइरहेको अवस्थामा खड्काले आफ्नो असहभागिताको कारण सर्वोच्च अदालतमा विचाराधीन मुद्दा रहेको बताएका छन् । ‘सम्बन्धित सबैमा स्पष्ट होस् कि यो महाधिवेशनको कुनै पनि प्रक्रियामा मेरो सहभागिता छैन–रहने छैन,’ उनले भनेका छन् ।
खड्काका अनुसार विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूहरू सर्वोच्च अदालत पुगेका थिए । सोही कारण प्रतिनिधिसभा निर्वाचनमा समेत आफू उम्मेदवार नबनेको उनले बताएका छन् ।
उनले भनेका छन्, ‘विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति र कार्यसमिति कानुनतः, पार्टीको विधानका प्रबन्ध, राजनीतिक दलसम्बन्धी ऐन तथा निर्वाचन आयोगले विगतमा राजनीतिक दलका विवाद निरूपण गर्दा स्थापित नजिरको विपरीत भएको दाबीसहित हामी सर्वोच्च अदालतमा न्यायका लागि गएको अवस्थामा सभापति गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु चरम अनैतिक काम हुन्छ भन्ने मेरो विश्वासका कारणले म चुनावमा लडिनँ।’
डिभिजन बेन्चबाट आफूहरूको दाबीविपरीत फैसला आएपछि पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको र सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनका लागि निस्सा दिएको खड्काले बताएका छन् । उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको उनको भनाइ छ ।
‘निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दियो र सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ,’ उनले भनेका छन् ।
यही अवस्थामा गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढाएकाले आफू त्यसमा सहभागी हुनु आफ्नो दृष्टिमा नैतिक रूपमा उचित नहुने खड्काको भनाइ छ ।
महाधिवेशनका सबै प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको भए पनि अदालतबाट महाधिवेशन प्रक्रिया रोक्ने आदेश नआएपछि कांग्रेसमा अलग–अलग महाधिवेशन हुने अवस्था सिर्जना भएको उनले दाबी गरेका छन् ।
खड्काले सर्वोच्च अदालतप्रति आफ्नो आस्था र विश्वास कायम रहेको उल्लेख गर्दै विचाराधीन मुद्दाको गम्भीरता र त्यसबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर अग्राधिकारका साथ फैसला गर्न आग्रह गरेका छन् । ‘सर्वोच्च अदालतको अन्तिम फैसला हाम्रा लागि स्वीकार्य हुनेछ,’ उनले भनेका छन् ।
उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई विचाराधीन पुनरावलोकनको मुद्दालाई परिस्थितिको गम्भीरता मूल्याङ्कन गर्दै अग्राधिकारमा राख्न र यथाशीघ्र अन्तिम फैसला गर्न आग्रह गरेका छन् ।
खड्काले कांग्रेस विभाजनको सम्भावित असर पार्टीभित्र मात्र सीमित नरहने दाबीसमेत गरेका छन् । नेपालको राजनीतिक परिवर्तनका विभिन्न आन्दोलन र अभियानको नेतृत्व गरेको पुरानो राजनीतिक दल विभाजित हुँदा लोकतन्त्रमा समेत बहुआयामिक प्रभाव पर्न सक्ने उनको भनाइ छ ।
‘यदि उपरोक्त कारणले नेपालको राजनीतिक परिवर्तनका सबै आन्दोलन र अभियानको नेतृत्व गरेको सबैभन्दा पुरानो ऐतिहासिक पार्टी विभाजन भयो भने यसबाट केवल हामी कांग्रेसजनको क्षति मात्र हुने छैन, यसले नेपालको लोकतन्त्रसँगसँगै पार्ने बहुआयामिक दुष्प्रभाव भयानक हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न नमिल्ने खालका संकेतहरू देखिँदै छन्,’ खड्काले भनेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ । पार्टीभित्रको विवादका कारण समानान्तर गतिविधि भइरहेका बेला खड्काको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्रको संस्थागत तथा कानुनी विवाद अझै टुंगोमा नपुगेको संकेत गरेको छ ।
















प्रतिक्रिया