दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।
बुधबार अपिल जारी गर्दै मुख्यमन्त्री आचार्यले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताएका छन् । नदी, खोला तथा नालामा पानीको सतह बढ्नुका साथै सडक तथा यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।
नदी तथा खोला किनार, पहिरोको जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न मुख्यमन्त्री आचार्यले अनुरोध गरेका छन् ।
धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर कृषि विज्ञको सल्लाहअनुसार आवश्यक तयारी गर्न पनि उनले आग्रह गरेका छन् । वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न उनले सुझाव दिएका छन् ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायलाई पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन गरिएको मुख्यमन्त्री आचार्यले बताएका छन् ।
भारी वर्षाको समयमा अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, नदी तथा खोलामा नजान र बाढी तथा डुबान भएका सडकबाट आवतजावत नगर्न पनि उनले प्रदेशवासीलाई आग्रह गरेका छन् ।
मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन तथा पर्यटन, निर्माणलगायत जोखिमयुक्त गतिविधिमा संलग्न व्यक्ति र संस्थालाई आवश्यक सावधानी अपनाउन मुख्यमन्त्री आचार्यले अनुरोध गरेका छन् ।
सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न सरकारको तयारीसँगै नागरिकको सतर्कता र सहकार्य पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै उनले जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायलाई समयमै पूर्वतयारी अपनाई सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्न अपिल गरेका छन् ।
















प्रतिक्रिया