१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

रुपन्देही कांग्रेसको वडा र पालिका अधिवेशन सम्पन्न, १६ वटै पालिकामा नयाँ नेतृत्व



बुटवल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत रुपन्देहीमा वडा तथा पालिका तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १५५ वटै वडा र १६ वटै पालिकामा नयाँ नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिबाट खटिएका प्रतिनिधि तथा जिल्ला नेतृत्वको समन्वयमा अधिवेशन सम्पन्न भएको हो । गत असोज ४ गते जिल्लाका १५२ वडामा एकैसाथ अधिवेशन भएको थियो । विभिन्न कारणले रोकिएका तीन वडामा असोज ६ गते मतदान सम्पन्न भएपछि जिल्लाका सबै १५५ वडाको अधिवेशन पूरा भएको निर्वाचन समितिका संयोजक रामचन्द्र गौतमले जानकारी दिए ।

अन्तिम परिणामअनुसार १५५ वडामध्ये १३१ वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ भने २४ वडामा निर्वाचनमार्फत नेतृत्व छनोट गरिएको छ । वडा अधिवेशनबाट रुपन्देहीभरि ४ हजार २०६ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचित क्षेत्रीय प्रतिनिधिमध्ये ९८४ जना महिला, १८१ जना दलित, २४३ जना युवा, १४७ जना अपाङ्गता भएका व्यक्ति, १५५ जना श्रमिक, ७८ जना मुस्लिम, १८४ जना आदिवासी जनजाति, १५१ जना अल्पसंख्यक र २७८ जना मधेसी समुदायका प्रतिनिधि रहेका छन् ।

पालिका तहमा पनि १६ मध्ये सात पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ भने नौ पालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।

पालिका अधिवेशनबाट बुटवल उपमहानगरपालिकाको सभापतिमा ज्योति भण्डारी, तिलोत्तमा नगरपालिकामा नारायण ढकाल, सिद्धार्थनगर नगरपालिकामा देवराज न्यौपाने, सैनामैना नगरपालिकामा विमल ज्ञवाली, देवदह नगरपालिकामा अमर लामिछाने र लुम्बिनी सांस्कृतिक नगरपालिकामा वीरेन्द्रबहादुर त्रिपाठी निर्वाचित भएका छन् ।

त्यस्तै, गाउँपालिकातर्फ कञ्चनमा टेकबहादुर गुरुङ, ओमसतियामा अखिलेश्वर पाण्डे, मायादेवीमा अकलेस यादव, कोटहीमाईमा राजेन्द्रप्रसाद यादव, गैडहवामा योगेन्द्रप्रसाद चौधरी, रोहिणीमा अकवाल खाँ, सियारीमा सूर्यनारायण यादव, मर्चवारीमा जनार्दन यादव, सम्मरीमाईमा नागेन्द्र सिंह र शुद्धोधनमा दामोदर पौडेल सभापतिमा निर्वाचित भएका छन् ।

निर्वाचन सहायक अधिकृत माधवप्रसाद घिमिरेका अनुसार जिल्लाका १५ पालिकामा असोज ७ गते र शुद्धोधन गाउँपालिकामा असोज ८ गते अधिवेशन सम्पन्न भएको हो ।

अब वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिले प्रदेशसभा क्षेत्रीय कार्यसमिति चयन गर्नेछन् । त्यसपछि क्षेत्रीय समितिले प्रतिनिधिसभा क्षेत्रीय समिति तथा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।

पूर्वनिर्धारित असोज १० गतेको निर्वाचन तालिकामा वर्षा र प्रतिकूल मौसमका कारण संशोधन गरिएको छ । संशोधित तालिकाअनुसार प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ को निर्वाचन असोज ११ गते तथा प्रतिनिधिसभा क्षेत्रको निर्वाचन असोज १३ गते गर्ने तयारी गरिएको निर्वाचन समितिका संयोजक गौतमले जानकारी दिए ।

रुपन्देहीका पाँच प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ बाट क्रमशः ८६६, ८५५, ९०६, ८१८ र ७६१ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार मौसमको अवस्था हेरी आवश्यक परे थप निर्णय गरिनेछ । निर्वाचन टोली, जिल्ला कार्यसमिति तथा पार्टी नेतृत्व आगामी निर्वाचनका लागि तयारी अवस्थामा रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ७ : ०२ बजे

नयाँ कार्यसमिति अद्यावधिकका लागि कांग्रेसद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार

वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिँदै

नेपालगन्ज । नेपालगञ्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिने

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार