मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार भइरहेको वर्षा र हिमपातका कारण स्थानीय जनजीवन कष्टकर बनेको छ । बाली भित्र्याउने मुख्य समयमा मौसम प्रतिकूल बनेपछि खेतबारीमा पाकेको अन्नबाली नष्ट हुनुका साथै भूकम्पपीडितहरू थप समस्यामा परेका छन् ।
केही समयअघि गएको भूकम्पबाट प्रभावित भई पाल तथा चर्किएका घरमा बसोबास गरिरहेका नागरिकहरू वर्षा र हिमपातका कारण बढी प्रभावित भएका हुन् । भत्किएका तथा चर्किएका घरमा बस्न नसक्ने अवस्था रहेकाले कतिपय परिवार पालमा आश्रय लिएर बसिरहेका छन् ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार भत्किएका र चर्किएका घर तथा पालभित्र पानी पसेपछि भूकम्पपीडितहरू चिसोमा रात बिताउन बाध्य भएका छन् । लगातारको वर्षा र हिमपातका कारण उनीहरूको दैनिकी थप कठिन बनेको अध्यक्ष गुरुङले बताए ।
वर्षा र हिमपातले बस्तीमा मात्र नभई किसानको वर्षभरिको मिहिनेतसमेत खेर फालेको छ । पाकेको बाली भित्र्याउने समयमा नै हिउँ र पानी परेपछि खेतबारीमा रहेको अन्नबाली नष्ट भएको स्थानीय किसानहरूले बताएका छन् । यसबाट किसानहरू चिन्तित बनेका छन् ।
क्षेत्रमा अत्यधिक चिसो बढेकाले गाउँपालिका अध्यक्ष गुरुङले सर्वसाधारणलाई धैर्य र सतर्क रहन आग्रह गरेका छन् । मौसममा सुधार आएपछि मात्र वर्षा र हिमपातबाट भएको क्षतिको पूर्ण तथा यकिन विवरण संकलन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
















प्रतिक्रिया