काठमाडौं । देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली, पहाडी भूभागमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
राति देशका हिमाली तथा पहाडी भूभागमा तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यसैबीच, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातका साथै उद्धार तथा राहत कार्यमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई मौसमसम्बन्धी पछिल्लो सूचना लिएर सावधानी अपनाउन अनुरोध गरेको छ ।
















प्रतिक्रिया