बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीको वार्षिक साधारणसभाले विकास पाण्डेलाई नयाँ अध्यक्षमा चयन गरेको छ । मञ्चको वार्षिक साधारणसभाको उद्घाटन नेपाल उद्योग परिसंघका संस्थापक तथा उद्योगपति विनोद चौधरीले गरेका थिए ।
साधारणसभालाई सम्बोधन गर्दै चौधरीले युवा पुस्ताको ऊर्जा, नयाँ सोच र अनुभवी पुस्ताको ज्ञानलाई एकीकृत गरेर देशको नेतृत्व अघि बढाउनुपर्ने बताएका छन् । नेपालको पछिल्लो तीन दशकको आर्थिक तथा राजनीतिक अवस्थाको चर्चा गर्दै उनले परिवर्तनलाई संस्थागत गर्न नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताए ।
संक्रमणकालीन राजनीतिक अवस्थाका कारण देशमा विभिन्न विकृति भित्रिएको दाबी गर्दै चौधरीले त्यसको असर आर्थिक क्षेत्रमा समेत परेको बताए । करिब तीन करोड जनसंख्या रहेको नेपालमा ठूलो संख्यामा युवा सामान्य रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले यसले परिवार र सामाजिक संरचनामा समेत असर पारेको बताए ।
“हरेक घर टुट्यो, सबको मन टुट्यो । यसले एउटा फरक प्रकारको आँधी ल्यायो र धेरै जनधनको नाश भयो,” चौधरीले भने ।
नयाँ पुस्ताले देशको नेतृत्व गर्नुपर्ने अवस्था आए पनि परम्परागत राजनीतिक दलहरू समयअनुकूल रूपमा अघि बढ्न नसकेको उनको भनाइ थियो । अहिलेको पुस्ता नयाँ सोच र प्रविधिसहित अघि बढिरहेको तथा देश कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले युवा शक्ति र अनुभवी पुस्ताको ज्ञानलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेतृत्व छनोट गर्दा राजनीतिक पहुँचभन्दा विशेषज्ञता र क्षमतालाई आधार बनाउनुपर्ने धारणा राख्दै चौधरीले कानुनी प्रणालीलाई समेत समयअनुकूल सुधार गर्नुपर्ने बताए । कतिपय अवस्थामा कानुनले समस्या समाधान गर्नुभन्दा थप कठिनाइ सिर्जना गर्ने अवस्था रहेको उनको भनाइ थियो ।
देशमा तीव्र परिवर्तन आवश्यक रहेको बताउँदै चौधरीले अहिले देखिएको परिवर्तनलाई सर्तरहित सहयोग आवश्यक रहेको धारणा राखे । उद्योग र राजनीतिबीच तुलना गर्दै उनले उद्योगीले बजारका उपभोक्ताको चाहना र मागअनुसार वस्तु तथा सेवा उत्पादन गर्न नसके बजारमा टिक्न नसक्ने बताए । त्यसैगरी राजनीतिमा पनि जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न नसक्ने नेतृत्व दीर्घकालीन रूपमा टिक्न नसक्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापाले सूचना तथा प्रविधिको पहुँचका कारण विश्व सानो बन्दै गएको र यसले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको बताए । नेपालमै बसेर नेपालको आर्थिक विकास गर्ने लक्ष्यका साथ अघि बढ्न उनले युवालाई सुझाव दिए ।
प्रतिनिधिसभा सदस्य सुलभ खरेल, नेपाल उद्योग परिसंघका बोर्ड सदस्य प्राची अग्रवाल, सीएनआईवाईईएफका केन्द्रीय अध्यक्ष सुगम घिमिरे, सीएनआई लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले प्रविधि, युवा र पर्यटनलाई आर्थिक विकासको आधार बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष राजन कसजुले आफ्नो कार्यकालमा भएका कार्यक्रम तथा त्यसबाट युवा उद्यमी र समुदायमा परेको प्रभावबारे जानकारी गराए । निर्देशक अभिनव थापाले युवालाई संगठित गर्ने, नयाँ प्रविधि सिक्ने, उद्योग भ्रमणमार्फत अनुभव हासिल गर्ने तथा नीतिगत विषयमा छलफल गर्ने कार्यलाई मञ्चले प्राथमिकता दिएको बताए । उनका अनुसार ‘कफी टेबल’ छलफलदेखि नीति निर्माणसम्मका विषयमा युवालाई सहभागी गराउने काम भइरहेको छ ।
वार्षिक साधारणसभाबाट मञ्चको नयाँ बोर्डसमेत चयन गरिएको छ । अध्यक्षमा विकास पाण्डे चयन भएका छन् । बोर्डमा आईपीपीका रूपमा राजन कसजु, लर्निङ चेयरमा विवेक कसौधन, ग्रोथ एन्ड एक्सपान्सन चेयरमा अभिनव थापा, फाइनान्स चेयरमा अभिषेक पाठक र मेम्बरसिप चेयरमा अनिश पाठक चयन भएका छन् ।

त्यसैगरी, नेटवर्क एन्ड कम्युनिकेसन चेयरमा अर्जुन पाठक, स्टार्टअप चेयरमा अनमोल मित्तल तथा एक्जिक्युटिभ डाइरेक्टरमा रुस्तम कँडेल रहेका छन् । फाइनान्स को-चेयरमा आशिष घिमिरे र मेम्बरसिप को-चेयरमा अमृत भुसाल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा ‘सीएनआई इग्नाइट’लाई सिग्नेचर प्रोजेक्टका रूपमा सञ्चालन गर्ने बताए । वार्षिक योजनाअनुसार युवा उद्यमीको क्षमता विकाससँगै समुदाय केन्द्रित रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए ।
















प्रतिक्रिया