काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सारेको छ।
कांग्रेसले असोज १६ गते गर्ने भनिएको उद्घाटन समारोह अब २०८३ असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने भएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत महाधिवेशन उद्घाटनको नयाँ मिति र समय सार्वजनिक गरेका हुन्।
कांग्रेसका अनुसार १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने क्रममा रहेका छन्।
यसबीच देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ।
निर्वाचन समिति तथा पार्टीका विभिन्न तहका कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा वर्षाका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटन समारोहको मिति परिवर्तन गरिएको कांग्रेसले जनाएको छ।
यसअघि कांग्रेसले असोज १६ गतेदेखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।
















प्रतिक्रिया