२६ आश्विन २०८३, सोमबार | October 12, 2026

छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य



काठमाडौँ । सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पु¥याउने प्रस्ताव अघि बढाएको छ । आमालाई प्रसूतिपछि पर्याप्त समय आराम गर्न, नवजात शिशुको स्याहार गर्न र छ महिनासम्म पूर्ण स्तनपान गराउन सहज हुने भन्दै प्रस्तावित व्यवस्थालाई स्वास्थ्य क्षेत्रका विज्ञले आवश्यक र महत्वपूर्ण बताएका छन् ।

‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ लाई संशोधन गर्दै सुत्केरी बिदा छ महिना बनाउने प्रस्ताव गरिएको हो । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ को मस्यौदामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी छ महिनासम्म तलबसहितको सुत्केरी बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ ।

प्रस्तावित संशोधनको उद्देश्य आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवद्र्र्धन र प्रसूतिपश्चात् आमालाई पर्याप्त आराम तथा हेरचाहको अवसर उपलब्ध गराउने रहेको छ ।

प्रतिनिधिसभामा ‘यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव’ सोमबार स्वीकृत भइसकेको छ । प्रस्ताव पेस गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मातृत्वमा गरिएको लगानी राज्यको भविष्यमाथिको लगानी गरिएको बुझ्नुपर्ने बताएकी थिइन् । छ महिने सुत्केरी बिदालाई सुविधा वा बिदाका रूपमा मात्र नहेरी मातृत्वको सम्मान, आमा तथा नवजात शिशुको स्वास्थ्य, पोषण र दीर्घकालीन मानव पुँजी निर्माणसँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ ।

‘सुत्केरी बिदाले पूर्ण स्तनपानलाई प्रोत्साहन गर्छ’

परिवार कल्याण महाशाखाअन्तर्गत मातृ तथा नवजात शिशु शाखा प्रमुख डा गौरी प्रधान श्रेष्ठले छ महिनाको सुत्केरी बिदा आमा र नवजात शिशुको स्वास्थ्यका लागि आवश्यक रहेको बताइन् ।

विकसित देशमा बालबालिकाको स्याहारका लागि लामो बिदा दिने अभ्यास रहेको उल्लेख गर्दै उनले कतिपय देशमा दुई वर्षसम्म पनि बिदा दिने गरिएको उदाहरण दिइन् । उनका अनुसार नवजात शिशुका लागि आमाको दूध अत्यन्त महत्वपूर्ण हुने भएकाले कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ ।

“आमाको दूधले नवजात शिशुको मृत्यु तथा विभिन्न रोगबाट बचाउन सहयोग गर्नुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास गर्छ,” प्रमुख श्रेष्ठले भनिन्, “पहिलो खोप नै आमाको दूध हो ।”

तथ्याङ्कले पनि शिशुले स्तनपान पाउने सङ्ख्यामा कमी आएको देखाउँछ । नेपाल बहुसूचक सर्वेक्षण सन् २०२४–२५ अनुसार छ महिनाभन्दा कम उमेरका शिशुमध्ये १० मध्ये सात शिशुले मात्र पूर्ण स्तनपान पाएका छन् । यस्तै १० मध्ये चारभन्दा कम शिशुले मात्र जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गरेका छन् ।

छ महिनाको सुत्केरी बिदाले आमालाई प्रसूतिपछि शारीरिक रूपमा तङ्ग्रिन र सामान्य अवस्थामा फर्किन समय उपलब्ध गराउने उनको भनाइ छ । कामकाजी महिलाको सङ्ख्या बढ्दै गए पनि सबै कार्यस्थलमा स्तनपान कक्षको पर्याप्त व्यवस्था छैन ।

“कतिपय कार्यालयमा शिशु राख्ने ठाउँ भए पनि सहज रूपमा स्तनपान गराउन नपाउने अवस्था पनि छ,” उनले भनिन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले पनि छ महिनाको सुत्केरी बिदा दिने व्यवस्था सकारात्मक र स्वागतयोग्य भएको बताउँछन् । उनले यस्तो व्यवस्थाले महिला तथा नवजात शिशुको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने बताए ।

मातृ तथा नवजात शिशु शाखा प्रमुख डा श्रेष्ठले पनि छ महिनाको सुत्केरी बिदा कार्यान्वयन गर्दा सुरुआती चरणमा केही अप्ठ्यारो हुन सक्ने बताइन् । “तर, यसलाई भविष्यको पुस्ताका लागि लगानीका रूपमा लिनुपर्छ । विभिन्न विकसित राष्ट्रले अपनाएका अभ्यासबाट पनि सिक्न सकिन्छ,” उनले भनिन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ८ : २९ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई