१९ आश्विन २०८३, सोमबार | October 5, 2026

आजदेखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्दै आइस्पान



काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आजदेखि सस्तो मूल्य र न्यून गतिको इन्टरनेट प्याकेजहरू बन्द गर्ने निर्णय गरेको छ । बजारमा बढ्दो मूल्यवृद्धि, इन्धन तथा प्रविधिसम्बन्धी उपकरणको मूल्य वृद्धि र सञ्चालन खर्च बढ्दै गएपछि हाल उपलब्ध सुपथ मूल्यका कम स्पिडका प्याकेजलाई निरन्तरता दिन असमर्थ भएको आइस्पानले जनाएको छ ।

आइस्पानका अनुसार पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेको मूल्यवृद्धि र आर्थिक चुनौतीका कारण इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा सञ्चालन गर्न कठिन हुँदै गएको छ । विशेषगरी मध्यपूर्वमा जारी तनावका कारण इन्धनको मूल्य बढ्नु, फाइबरलगायत उपकरणको मूल्य वृद्धि हुनु तथा उच्च मुद्रास्फीतिका कारण सेवा प्रदायकको सञ्चालन लागत उल्लेख्य रूपमा बढेको संघको भनाइ छ ।

त्यसैगरी, पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकाससँगै इलेक्ट्रोनिक सामग्री तथा चिपसेटको माग र मूल्य बढेकाले इन्टरनेट सेवा प्रदायकमाथि थप आर्थिक भार परेको आइस्पानले जनाएको छ । यी विविध कारणले सस्तो मूल्य र न्यून गतिको इन्टरनेट प्याकेजलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेको संघको भनाइ छ ।

आइस्पानले प्याकेज बन्द गर्ने निर्णयबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ । संघले विगत १२ वर्षमा नेपालको इन्टरनेट क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गर्दै फिक्स्ड ब्रोडब्यान्डको पहुँच र घनत्वका आधारमा नेपाल दक्षिण एसियामै अग्रस्थानमा रहेको जनाएको छ ।

नेपालमा इन्टरनेट सेवा विश्वकै सस्तोमध्ये एक रहेको दाबी गर्दै संघले अधिकांश घरधुरीसम्म सेवा विस्तार गर्न सेवा प्रदायक सफल भएको जनाएको छ । सेवा प्रदायकहरूले सकेसम्म सुपथ मूल्यमा सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै आइस्पानले कोरोना महामारीदेखि भोटेकोशी बाढीजस्ता प्राकृतिक विपद्का समयमा समेत इन्टरनेटलाई अत्यावश्यक सेवाका रूपमा निरन्तरता दिएको स्मरण गरेको छ ।

डिजिटल नेपालको लक्ष्य पूरा गर्न निरन्तर खटिएका इन्टरनेट सेवा प्रदायकका कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै आइस्पानले आफ्ना सदस्य सेवा प्रदायकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै डिजिटल नेपालको अभियानमा निरन्तर लाग्न आग्रह गरेको छ ।

संघले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दरअनुसारको इन्टरनेट शुल्क तथा प्याकेजसम्बन्धी विवरण आफ्नो वेबसाइटमा ग्राहकले सहज रूपमा देख्न सक्ने गरी राख्न सबै सेवा प्रदायकलाई आग्रह गरेको छ । साथै, इन्टरनेट सेवाको भुक्तानी गर्दा ग्राहकले अनिवार्य रूपमा भ्याट बिल लिनसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १० : १२ बजे

बुटवलमा कम मूल्यमा घरजग्गा लिलामी गरेको भन्दै लुम्बिनी विकास बैंकविरुद्ध धर्ना

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-९ मिलनचोकस्थित तीनतले घरसहितको जग्गा

आजदेखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्दै आइस्पान

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आजदेखि

बागलुङ पहिरो अपडेट : ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

बागलुङ । निसीखोला गाउँपालिका-३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको

सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी

बागलुङ । आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को

युवा उद्यमीसँग सहकार्य गर्दा निजी क्षेत्र थप सुदृढ हुन्छ : टंकप्रसाद पोखरेल

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद