कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको छ ।
मध्यपहाडी लोकमार्गको पोखरा महानगरपालिका–१ याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टेखोलानजिक पानीविहाडमा एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए ।
याम्दीखोलामा रहेको पुरानो पुलको दायाँ र बायाँपट्टि थप एक–एकवटा नयाँ पुल निर्माण गरिएको हो । दुवै नयाँ पुलको लम्बाइ ५२–५२ मिटर रहेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिकातर्फ निर्माण गरिएको पानीविहाड पुलको लम्बाइ १२४ मिटर रहेको इन्जिनियर शर्माले बताए ।
मध्यपहाडी लोकमार्गअन्तर्गत याम्दी पुलदेखि नयाँपुलसम्मको सडकखण्ड यसअघि नै स्तरोन्नति तथा विस्तार भइसकेको थियो । सडक फराकिलो भए पनि पुल निर्माणको काम पूरा नहुँदा कतिपय स्थानमा सडकको चौडाइअनुसार पुलको संरचना नहुँदा सवारीसाधन सञ्चालनमा असहजता हुने गरेको थियो ।
विशेषगरी साँघुरो पुलका कारण विपरीत दिशाबाट आउने सवारीसाधनलाई पार गराउन समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत रहने गरेको थियो । अब सडकको चौडाइअनुसार पक्की पुल निर्माण सम्पन्न भएपछि उक्त समस्या हटेको कार्यालयले जनाएको छ । पुल सञ्चालनमा आएसँगै यात्राको समय बचत हुनुका साथै सवारीसाधनको आवागमनसमेत थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
“सडकअनुसारकै पक्की पुल निर्माण भएपछि दुर्घटना हुने जोखिम पनि हटेको छ । पुल निर्माणको सबै काम सम्पन्न भएको छ । यसबाट मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सहज भएको छ”, सूचना अधिकारी शर्माले भने ।
तीनवटै पुल निर्माणका लागि कार्यालयले एउटै ठेक्कामार्फत काम अघि बढाएको थियो । सोहीअनुसार रु २१ करोड ५९ लाख ७८ हजार लागतमा विसं २०७९ साउन २२ गते गीता कन्स्ट्रक्सन, स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणकार्य अघि बढाई तीनवटै पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।
मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभिन्न जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ । कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखरादेखि पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लातर्फ हुने यातायात थप सहज हुने भएको छ ।
मध्यपहाडी लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन साविक धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ तथा पूर्वी रुकुमलगायतका जिल्लामा आवतजावत गर्ने गर्दछन् । मालवाहक सवारी, सार्वजनिक यातायात तथा निजी सवारीसाधनका लागि समेत यो सडकखण्ड महत्त्वपूर्ण मार्गका रूपमा रहेको छ ।















प्रतिक्रिया