काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको पहिलो बैठक बिहीबार बस्दैछ । ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको यो पहिलो बैठक हो ।
आजको बैठकले केन्द्रीय कमिटीले प्रत्यायोजन गरेको अधिकारअनुसार पार्टीका विभिन्न सांगठनिक जिम्मेवारीसम्बन्धी निर्णय गर्ने तयारी गरेको छ । त्यसअन्तर्गत पोलिटब्युरो गठन, स्थायी कमिटीको पूर्णता, विभिन्न विभाग गठन तथा ज्येष्ठ कम्युनिस्ट मञ्चलगायतका संरचनालाई पूर्णता दिने विषयमा निर्णय हुन सक्नेछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक वरिष्ठ नेताका रूपमा सहभागी हुँदैछिन् । यसअघि बसेको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताका रूपमा मनोनयन गरेको थियो ।
केन्द्रीय कमिटी बैठकले पार्टीका सम्पूर्ण पदाधिकारीलाई स्थायी कमिटीमा रहने व्यवस्था गर्दै थप सात जना नेतालाई स्थायी कमिटी सदस्यमा चयन गरेको थियो । स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा चयन भएका थिए ।
केन्द्रीय कमिटीले स्थायी कमिटीको पूर्णता, पोलिटब्युरो गठन, सल्लाहकार परिषद्, विभाग तथा ज्येष्ठ कम्युनिस्ट मञ्च गठनलगायतका विषयमा निर्णय गर्ने अधिकार सम्बन्धित पार्टी निकायलाई प्रत्यायोजन गरेको थियो ।















प्रतिक्रिया