काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हुँदैछ। बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न राजनीतिक प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको छ। यसअघि विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैका लागि खुला गरिएको उनले बताए।
उनका अनुसार बन्द सत्रको प्रत्यक्ष प्रसारण नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजबाट गरिनेछ। अन्य सञ्चारमाध्यमलाई समेत बन्द सत्रको प्रत्यक्ष प्रसारण गर्न अनुमति दिइएको छ।
बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिसम्बन्धी राजनीतिक प्रस्ताव’, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ।
सोमबारदेखि जारी छलफलमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायतका विषयमा धारणा र सुझाव राख्दै आएका छन्।
कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा। सुरेश आचार्यका अनुसार छलफलमा सातै प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका छन्। उनका अनुसार बिहान साढे १० बजेबाट बन्द सत्र पुनः सञ्चालन गर्ने तयारी भए पनि केही ढिलाइ हुन सक्नेछ।
बाँकी रहेका धारणा तथा सुझाव समेट्दै राजनीतिक, संगठनात्मक र आर्थिक प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।
बन्द सत्रको छलफलपछि सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुंग्याउने तयारी कांग्रेसको छ।
राजनीतिक, संगठनात्मक तथा आर्थिक प्रस्ताव र प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ।
१५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता यसअघि नै भइसकेको छ। सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। बन्द सत्रपछि निर्वाचन प्रक्रिया अघि बढेसँगै कांग्रेस महाधिवेशनको मुख्य ध्यान नेतृत्व चयनतर्फ केन्द्रित हुनेछ।















प्रतिक्रिया