काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च लाग्ने भएपनि इन्धनबाट चल्ने सवारी बराबरको भाडामा यातायात सञ्चालन भइरहेका बेला सरकारले विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीको भाडा दर सार्वजनिक गरेको छ । सरकारले अन्तर प्रदेश (छोटो, मध्यम र लामो दूरी) मा विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको हो ।
यातायात व्यवस्था विभागले बिहीबारबाट लागुहुनेगरि नयाँ भाडा दर सार्वजनिक गरेको हो । विभागका अनुसार तराई र पहाडी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको छ । तराईको लामो दूरी (२५० कि.मि. भन्दा बढी) पक्की र ग्राभेल बाटोमा प्रति कि.मि. प्रति व्यक्ति रु. २.९३ कायम गरिएको छ भने २५ देखि २५० कि.मी. सम्मको दूरीमा रु. ३.०० तोकिएको छ । त्यसैगरी, काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्डका लागि प्रति कि.मि. रु. ३.२४ कायम गरिएको विभागले जनाएको छ ।
नयाँ भाडा दर अनुसार काठमाडौं देखि नेपालगन्ज सम्मको साधारण सवारीमा १ हजार ५८०, डिलक्समा १ हजार ८७२ र सुपर डिलक्समा २ हजार २४६ भाडा तोकिएको छ । त्यसैगरि काठमाडौबाट बुटवल सम्मको भाडा दर साधारणमा ७९०, डिलक्समा ९४७ र सुपर डिलक्सका लागि १ हजार १३७ भाडा निर्धारण गरिएको छ ।
विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुट, रात्रिकालीन बसमा २ चालक अनिवार्य
विभागले जारी गरेको आचारसंहितामा विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, र ज्येष्ठ नागरिकलाई तोकिएको दरमा अनिवार्य सहुलियत दिनुपर्ने उल्लेख छ । सहुलियत दिँदा निश्चित रुट, कोटा वा दिन नतोकी सधैँ दिनुपर्ने र यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, लामो दूरीको रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने, चालक र सहचालकले परिचयपत्र वा पोसाक लगाउनुपर्ने, र तोकिएको भन्दा बढी भाडा लिएमा कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ । बढी भाडा लिएको खण्डमा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न विभागले आग्रह गरेको छ ।
















प्रतिक्रिया