काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको शुक्रबार सम्पन्न मतदानअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरू भएको छ ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काकाअनुसार खुला उपभापति र महामन्त्रीका उम्मेदवारको मतगणना केहीबेर अघि सुरू भएको हो ।
यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो ।
उम्मेदवार र प्रतिनिधिले एक मतपेटिका कम भेटिएको र दुई मतपेटिकाको सिलबन्दी खोलिएको अवस्थामा भेटिएको भन्दै मतगणना अघि बढ्न सकेको थिएन । विवाद समाधान भएसँगै मतगणना प्रक्रिया अघि बढेको बताइएको छ ।
उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । सिसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिको नाम सङ्कलन गरी मतगणना थालिएको हो ।
यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापति पदको मतगणना मतदान भएको स्थान राष्ट्रिय सभागृहमै भएको थियो ।
सभापतिमा गगनकुमार थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरी श्यामकृष्ण खड्गीलाई पराजित गरेका थिए ।
सभापति थापाले पार्टी कार्यालयमा आज सम्बोधन गर्दै खड्गीसहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ्ने वचन दिए ।
सभापति थापाले पार्टीमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने भन्दै अहिलेको गणनाबाट क्षणिक रूपमा जित हार देखिए पनि जिम्मेवारीका हिसाबले सबैको उत्तिकै भूमिका हुने बताए ।
कांग्रेसको १५औँ महाधिवेशनमा यसअघि नै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भई सकेका छन् ।
















प्रतिक्रिया