१ कार्तिक २०८३, आइतबार | October 18, 2026

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन



काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि अनुपयुक्त मानिएको चोकर प्रयोग भएको पाइएपछि नेपाल सरकारले उक्त ब्रान्डका बिस्कुटको आयात तथा बिक्री वितरणमा रोक लगाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्रीका लागि राखिएका सबै ब्याच र उत्पादन मितिका बिस्कुट तत्काल फिर्ता गर्नसमेत निर्देशन दिएको छ।

भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई)ले प्रियागोल्ड बिस्कुट उत्पादन गर्ने कम्पनी सूर्या फुड एन्ड एग्रो लिमिटेडको कारखाना निरीक्षण गर्दा खाद्य सुरक्षासम्बन्धी गम्भीर कमजोरी फेला पारेपछि नेपालले पनि यस्तो कदम चालेको हो।

विभागले आइतबार सूचना जारी गर्दै प्रियागोल्डका बिस्कुटको पैठारी स्वीकृति तथा नाकाबाट हुने प्रवेश अनुमति स्थगन गरिएको जनाएको छ। नेपालमा आयात भइसकेका उत्पादनको बिक्री वितरणसमेत तत्काल रोक्न निर्देशन दिइएको छ।

गाईवस्तुको दानाका लागि राखिएको चोकर बिस्कुटमा प्रयोग

भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले अक्टोबर १७ मा जारी गरेको सूचनाअनुसार कम्पनीको कारखाना निरीक्षणका क्रममा बिस्कुटमा रेसा (फाइबर)को स्रोतका रूपमा गाईवस्तुलाई खुवाउन प्रयोग गरिने चोकर राखिएको पाइएको थियो।

उक्त चोकर भण्डारण गरिएका जुटका बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि होइन’ भन्ने उल्लेख थियो। यसले खाद्य उत्पादनमा प्रयोग गरिएको कच्चा पदार्थको उपयुक्तता र खाद्य सुरक्षा मापदण्ड पालनाबारे गम्भीर प्रश्न उठाएको छ।

निरीक्षणका क्रममा कारखानाको सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा कारखाना परिसरको मर्मतसम्भारमा समेत कमजोरी भेटिएको विभागले जनाएको छ।

यी अनियमितता सार्वजनिक भएपछि भारतीय नियामक निकायले सूर्या फुड एन्ड एग्रो लिमिटेडको इजाजतपत्र निलम्बन गरी कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ।

दशैं बिदाका कारण भर्चुअल बैठकबाट निर्णय

भारतीय नियामक निकायले जारी गरेको सूचनालाई आधार बनाएर नेपालमा पनि प्रियागोल्डका उत्पादन रोक्ने निर्णय गरिएको हो।

दशैंको सार्वजनिक बिदाका कारण विभागको उच्च व्यवस्थापन समूह र प्रडक्ट रिकल प्राविधिक समितिका पदाधिकारी कार्यालयमा उपस्थित हुन नसकेपछि आइतबार भर्चुअल बैठक बसेको थियो। विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा भएको बैठकले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आयात रोक्ने तथा बजारमा रहेका उत्पादन फिर्ता गर्ने निर्णय गरेको विभागको सूचनामा उल्लेख छ।

विभागले कात्तिक १ गते जारी गरेको सूचनामार्फत नेपालका सबै आधिकारिक आयातकर्ता तथा खाद्य व्यवसायीलाई उक्त ब्रान्डका बिस्कुटको बिक्री वितरण रोक्न र बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको हो।

बजारबाट फिर्ता गरिएका बिस्कुट सुरक्षित रूपमा नष्ट गर्नुपर्ने

विभागको निर्देशनअनुसार बजारबाट फिर्ता ल्याइएका प्रियागोल्ड बिस्कुट उचित रूपमा भण्डारण गरी तिनको अभिलेख राख्नुपर्नेछ। त्यस्ता उत्पादन नष्ट गर्नुपर्ने अवस्थामा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि तथा विभागका प्राविधिक कर्मचारीको रोहबरमा मुचुल्का तयार गरी सुरक्षित रूपमा नष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ। उत्पादन नष्ट गरेपछि त्यसबारे विभागलाई जानकारी गराउनसमेत निर्देशन दिइएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) र (४) बमोजिम जारी आदेशको पालना गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ। आदेशको अवज्ञा गरी बिक्री वितरण जारी राखेमा वा जनस्वास्थ्यमा असर पर्ने गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

उपभोक्तालाई सतर्क रहन आग्रह

प्रियागोल्ड ब्रान्डका बिस्कुट नेपाली बजारमा पनि बिक्री हुँदै आएका कारण विभागको निर्णयले आयातकर्ता, वितरक, खुद्रा व्यवसायी तथा उपभोक्तालाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

विभागको निर्देशनपछि सम्बन्धित व्यवसायीले बजारमा रहेका उत्पादन पहिचान गरी बिक्री रोक्ने, फिर्ता सङ्कलन गर्ने र आवश्यक अभिलेख राख्ने प्रक्रिया अघि बढाउनुपर्नेछ।

उपभोक्ताले पनि पसलमा उक्त ब्रान्डका बिस्कुट बिक्रीका लागि राखिएको देखेमा खरिद नगर्न र सम्बन्धित खाद्य नियामक निकायलाई जानकारी गराउन सक्नेछन्।

खाद्य उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको गुणस्तर, भण्डारण र उत्पादन प्रक्रियामा मापदण्ड पालना गर्नु उत्पादकको दायित्व हो। यस घटनाले आयातित खाद्यवस्तुको गुणस्तर अनुगमन र उपभोक्ता स्वास्थ्य सुरक्षाका लागि नियामक निकायबीच सूचना आदानप्रदान तथा समन्वयको महत्त्वसमेत उजागर गरेको छ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ६ : ०८ बजे

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल