काठमाडौं । कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् सुरु हुँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म एक महिनासम्म यी धार्मिक अनुष्ठान गर्ने परम्परा छ ।
धार्मिक विश्वासअनुसार यस अवधिमा कार्तिक स्नान गर्नुका साथै तुलसीको विशेष पूजा आराधना र भगवान् विष्णुलाई समर्पित गरी आकाशदीपदान गर्दा सौभाग्य, सम्पत्ति र पुण्य प्राप्त हुन्छ । घरघरमा तुलसीको पूजा गर्ने तथा साँझ आकाशदीप बाल्ने प्रचलन छ ।
आकाशदीपदानका लागि सम्भव भएसम्म बाँसको लिङ्गो ठड्याएर दीप बाल्ने गरिन्छ । बाँस उपलब्ध नभए पलाँस, खयर वा पीपललगायतका काठ प्रयोग गर्ने धार्मिक परम्परा रहेको छ । तुलसीको विशेष पूजा भने सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गर्दा महापातकबाट समेत मुक्ति मिल्ने धार्मिक विश्वास छ । कार्तिक शुक्ल पूर्णिमासम्म स्नान, तुलसी पूजा र आकाशदीपदान गर्ने परम्परा रहेको उनले बताए ।
शास्त्रीय मान्यताअनुसार कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म मास, मुगी, मुसुरो, चना र भटमासजस्ता दुई दल भएका अन्न खान नहुने विश्वास छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीपदान गर्ने परम्परासमेत रहेको छ ।
आश्विन शुक्ल पूर्णिमाका अवसरमा मनाइने कोजाग्रत पूर्णिमा भने यस वर्ष आज राति मनाइएको छ । मध्यरातमा पूर्णिमा तिथि परेका दिन कोजाग्रत पूर्णिमा मनाउने र सूर्योदय तथा साँझ पूर्णिमा तिथि परेका दिन पूर्णिमा व्रत, कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना सुरु गर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

















प्रतिक्रिया