१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

राशिद र करणको विस्फोटक ब्याटिङमा कर्णाली विरुद्ध काठमाण्डुको जित



काठमाडौं । राशिद खान र कप्तान करण केसीको उत्कृष्ट ब्याटिङमा काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो।

कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९।४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा आएर जितको खाता खोलेको हो। दुई खेलबाट काठमाडौंले २ अंक जोडेको छ।

लगातार दुई खेल जितेको कर्णालीले भने तेस्रो खेलमा पहिलो हार व्यहोरेको छ।

काठमाडौंको जितमा राशिद खानले अर्धशतकीय इनिङ्स खेले। उनले ३४ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए। कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४ चौका र २ छक्कासहित ४४ रन जोडे।

तेस्रो विकेटका लागि राशिद र आदिल आलमले ५४ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ्स सम्हालेका थिए। आदिलले २७ बलमा २० रन बनाए। उनी आउट भएपछि आएका भीम सार्कीले ५ रन मात्र जोड्न सके।

पाँचौं विकेटका लागि राशिद र करणले २६ बलमा ५५ रनको महत्वपूर्ण साझेदारी गरे। राशिद अर्धशतक बनाएलगत्तै आउट भए भने करण पनि ४४ रन बनाएर पेभेलियन फर्किए।

त्यसपछि जितका लागि अन्तिम १२ बलमा २१ रन आवश्यक थियो। जहान्दाद खानले १९औं ओभरमा पवन सर्राफलाई लगातार दुई छक्का प्रहार गर्दै खेल काठमाडौंको पक्षमा मोडे। उक्त ओभरमा १७ रन जोडिएको थियो।

अन्तिम ओभरमा ४ रन आवश्यक हुँदा जहान्दाद र सन्तोष यादवले लगातार रन जोडे। चौथो बलमा जहान्दादले दुई रन लिएपछि काठमाडौंले रोमाञ्चक जित सुनिश्चित गर्‍यो। उनले १० बलमा १ चौका र २ छक्कासहित अविजित २२ रन बनाए।

काठमाडौंका लागि पहिलोपटक खेलेका अस्ट्रेलियन स्टार डेभिड वार्नरले १० बलमा १६ रन बनाए। उनी सोमपाल कामीको बलमा बोल्ड भए। स्मित पटेलले ९ रन जोडे।

बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसेन तलतले २–२ विकेट लिए। मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे।

कर्णालीले बनाएको थियो १८० रन

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो।

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। हुसेन तलतले ३० बलमा ४० रनको योगदान दिए। पवन सर्राफले अविजित ३० र गुल्सन झाले २० रन बनाए।

पाँचौं विकेटका लागि पवन र हुसेनले ६५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। हुसेन ४० रन बनाएर हिट विकेट आउट भए। त्यसपछि पवन र गुल्सनले पनि १६ बलमा २८ रनको साझेदारी गरे।

बलिङमा काठमाडौंका कप्तान करण केसीले २ विकेट लिए। शाहब आलम, जहान्दाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट लिए।

यस जितसँगै काठमाडौंले प्रतियोगितामा पुनरागमन गरेको छ भने पहिलो दुई खेल जितेको कर्णालीको अपराजित यात्रा टुंगिएको छ।

सोमबार नै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन्। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ। तीन खेलबाट एक जित र दुई हार व्यहोरेको सुदूरपश्चिम दोस्रो जितको खोजीमा छ। चितवनले भने एक खेल जितेको छ भने अर्को खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : ५२ बजे

लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त

काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

काठमाडौँ । गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कानुन

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ मा जेलमुक्त हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल

अन्तिम बलमा रसेलको कमाल, विराटनगरसँग २ रनले जनकपुर स्तब्ध

काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनपछि विराटनगर किंग्सले नेपाल प्रिमियर