सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीमध्ये दुई जना पक्राउ परेका छन् । फरार भएको पाँच दिनपछि मंगलबार उनीहरूलाई रुकुम पश्चिममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् ।
जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेका उनीहरू गत शुक्रबार राति अन्य छ जना कैदीबन्दीसँगै सुरुङ खनेर फरार भएका थिए ।
प्रहरीका अनुसार चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा खटिएको पाँच सदस्यीय टोलीले आठबिसकोट नगरपालिका–६ स्थित दामाचौरको खोली बगरमा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई फेला पारेको हो ।
राडीबाट आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याप बोलेरो जिप जाँचका लागि रोक्न प्रहरीले संकेत गरेपछि उनीहरू भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको एसएसपी राठौरले जानकारी दिए ।
कारागारबाट फरार भएका आठ जनामध्ये दुई जना पक्राउ परे पनि बाँकी छ जना अझै फरार छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया