काठमाडौँ । नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै देशभर ‘विशेष सुरक्षा योजना’ लागू गरेको छ । प्रहरीले चाडपर्वका समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्नुका साथै चोरी, ठगी, लुटपाट, जुवातास तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा परिचालन तीव्र बनाएको हो ।
प्रहरीले देउसीभैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । पटका तथा आतिशबाजीबाट हुनसक्ने आगलागी र दुर्घटना रोक्न दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको जनाएको प्रहरीले बताएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले सीमा नाका, भन्सार क्षेत्र, सार्वजनिक यातायात र मुख्य बजारमा विशेष चेकजाँच तथा अनुगमन टोली परिचालन गरिएको जानकारी दिए । उनले पटका लगायतका विस्फोटक पदार्थको अवैध ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको बताए । जुवातास, सट्टेबाजी तथा अन्य आपराधिक गतिविधि हुन सक्ने क्षेत्रमा सादा पोसाकमा पनि प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।
प्रहरीले तिहारमा पटका नपड्काउन, बालबालिकालाई विस्फोटक पदार्थबाट टाढा राख्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न तथा सुरक्षित र सभ्य रूपमा पर्व मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । आगलागी वा दुर्घटना भए तत्काल प्रहरी कार्यालय वा दमकलमा खबर गर्न तथा अवैध पटका कारोबारबारे प्रहरीको हटलाइन १०० मा जानकारी गराउन पनि आग्रह गरिएको छ ।
यसैगरी, चाडपर्वका बेला हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न वाणिज्य विभाग, स्थानीय तह तथा जिल्ला प्रशासनसँगको समन्वयमा बजार अनुगमन तीव्र बनाइएको छ । यस्तै, काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकको लाइसेन्स, मादक तथा लागूपदार्थ सेवन, यात्रु क्षमता, दुई चालकको व्यवस्था र सवारीको यान्त्रिक अवस्था पनि जाँच गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले नागरिकको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न सूचना प्रविधि, प्रभावकारी प्रहरी परिचालन र नागरिक सहकार्यलाई प्राथमिकतामा राख्दै चाडपर्व शान्तिपूर्ण रूपमा मनाउन सबैमा आग्रह गरेको छ ।
















प्रतिक्रिया