बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक र सह-चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल बसपार्कमा मागेको भाडा नदिएको भन्दै यात्रुलाई कुटपिट गर्ने चालक र सहचालकलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुल्मी मालिका गाउँपालिका वडा नं. ४ वस्ने ५२ वर्षिय चालक शिव बहादुर खत्री र सोही स्थानका १८ वर्षिय सहचालक चमत्कार खत्री रहेका छन् ।
गुल्मीबाट बुटवलका लागि छुटेकोे लु २ ख ५९३० नम्बरको गाडीमा ल्याइएको बोकाको भाडाको विषयमा विवाद सिर्जना गरी सेवाग्राही यात्रुलाई सार्वजनिक स्थानमा कुटपिट गरेको भिडीयो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडीयोमा बोका दोर्याइरहेका यात्रुलाई दुईजना चालक र सहचालकले निर्घात कुटपिट गरेको दृष्य देख्न सकिन्थ्यो ।
भिडीयो सार्वजनिक भए लगत्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलिले घटनामा संलग्न चालक र सहचालक खत्री द्वयलाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
पक्राउ परेकाहरु र घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले बताए । ।

















प्रतिक्रिया