२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान



काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने अनुमान नेपाल विद्युत् प्राधिकरणले गरेको छ। उक्त माग आन्तरिक उत्पादनबाटै धान्न सकिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार अहिले मुलुकमा विद्युत्को कुल उत्पादन करिब २ हजार ५ सय मेगावाट हाराहारीमा छ। यसअनुसार लक्ष्मीपूजाको साँझ अनुमानित मागभन्दा करिब ८ सय मेगावाट बढी विद्युत् उत्पादन हुने देखिएको छ। पर्याप्त आन्तरिक उत्पादन रहेकाले यस वर्ष तिहारभर विद्युत् आपूर्तिमा समस्या नआउने प्राधिकरणको विश्वास छ।

गत वर्षहरूको तुलनामा यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को माग थप बढ्ने अनुमान गरिएको हो। तिहारमा घर, कार्यालय तथा सार्वजनिक स्थानमा झिलिमिली बत्ती र विद्युतीय उपकरणको प्रयोग बढ्ने भएकाले साँझको समयमा विद्युत् खपत उच्च हुने गर्छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत् उत्पादन करिब २ हजार ५ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। मागभन्दा उत्पादन बढी हुने भएकाले आन्तरिक विद्युत् उत्पादनबाटै आपूर्ति व्यवस्थापन गर्न पर्याप्त हुने उनले बताएका छन्।

पछिल्ला वर्षहरूमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग निरन्तर बढ्दै गएको तथ्यांकले देखाउँछ। २०७९ सालमा १ हजार ३ सय ५ मेगावाट रहेको उच्चतम माग २०८० सालमा बढेर १ हजार ४ सय ३८ मेगावाट पुगेको थियो। त्यस्तै, २०८१ सालमा १ हजार ६ सय २ मेगावाट र २०८२ सालमा १ हजार ६ सय ५० मेगावाट पुगेको थियो।

यस वर्षको प्रक्षेपित माग १ हजार ७ सय मेगावाट पुगेमा चार वर्षको अवधिमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब ४ सय मेगावाटले वृद्धि भएको देखिनेछ।

यसैबीच, तिहार तथा त्यसपछि आउने छठ पर्वलाई लक्षित गर्दै प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई चुस्त तथा व्यवस्थित राख्ने तयारी गरेको छ। पर्व अवधिभर विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा बसेको उच्च व्यवस्थापन तथा प्रादेशिक प्रमुखहरूको बैठकले विद्युत् आपूर्तिमा समस्या आउन नदिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई आवश्यक निर्देशनसमेत दिएको छ। प्रसारण लाइन तथा वितरण प्रणालीमा कुनै प्राविधिक समस्या देखिए तत्काल समाधान गरी सेवा पुनः सञ्चालन गर्न निर्देशन दिइएको छ।

त्यस्तै, उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवालाई प्रभावकारी बनाउने र सेवामा आउने फोन नियमित उठाउने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले तिहारका बेला विद्युत् प्रयोग गर्दा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग भइरहेका विद्युतीय उपकरण, तार तथा अन्य सामग्रीको अवस्था जाँच गर्न र गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न पनि प्राधिकरणले सुझाव दिएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  १२ : ३६ बजे

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब

खाद्य स्वच्छता मापदण्ड पूरा गर्ने १७९ प्रतिष्ठानमा बुटवलको कस्तुरी मिष्ठान भण्डार

बुटवल । तिहार नजिकिँदै गर्दा मिठाईको माग र कारोबार बढेको

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला । मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा

घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो

शुक्रबारको तुलनामा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ