काठमाडौं । कार्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन पर्वत, बली राजा, गोरु तथा हलिको पूजा गरी तिहार मनाइँदैछ । यमपञ्चकको पाँचौँ दिनका रूपमा मनाइने यस पर्वमा गोरु र कृषि कर्ममा संलग्न किसानलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा छ ।
गोवर्द्धन पूजाका अवसरमा घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाएर त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने चलन छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको स्मरणमा यो पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए ।
कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका बेला गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
बली राजा, गोरु र हलिको पूजा
धार्मिक विश्वासअनुसार भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएका थिए । यही मान्यताका आधारमा आज बली राजाको पूजा आराधना गर्ने परम्परा छ । तिहारमा देउसी खेल्दा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने चलन पनि यसै विश्वाससँग जोडिएको छ ।
वर्षभरि खेतबारी जोतेर कृषि कर्ममा सहयोग गर्ने गोरुलाई आज पूजा गरी मीठा परिकार खुवाइन्छ । गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने धार्मिक परम्परा छ ।
त्यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाएर सम्मान गरिन्छ । यही कारण कार्तिक शुक्ल प्रतिपदाको दिनलाई हलि तिहारका रूपमा समेत चिनिन्छ ।

















प्रतिक्रिया