काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्लाई नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको राष्ट्रिय संवत्का रूपमा व्याख्या गरेका छन्।
नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिने ऐतिहासिक घोषणाको स्मरण गरेका हुन्।
उनले आफ्नो नेतृत्वको सरकारले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गर्न पाउँदा गौरवको अनुभूति भएको उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा प्रचण्डले नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको ऐतिहासिक योगदानको समेत स्मरण गरेका छन्। साख्वाको योगदानलाई नेपालको इतिहास र मौलिक पहिचानसँग जोड्दै उनले नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहिष्णुताको भावना बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
उनले नेपाल संवत् ११४७ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
नेपाल संवत् नेपालको मौलिक कालगणना परम्परा र सांस्कृतिक पहिचानसँग सम्बन्धित छ। शङ्खधर साख्वाले ऋणमा डुबेका नेपाली जनतालाई ऋणमुक्त गराएको जनविश्वाससँग यसको ऐतिहासिक सम्बन्ध रहेको छ। यस संवत्को सुरुवातलाई नेपाली समाजमा सामाजिक न्याय, जनकल्याण र राष्ट्रिय गौरवको प्रतीकका रूपमा स्मरण गरिँदै आएको छ।
प्रचण्डले आफ्नो सन्देशमा नेपाल संवत्लाई केवल तिथिमिति गणना गर्ने माध्यमका रूपमा मात्र नभई नेपालको मौलिक सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका छन्।

















प्रतिक्रिया