नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध युवाहरूको बढ्दो असन्तुष्टिबाट राजनीतिक शक्ति पुनः प्राप्त गर्ने प्रयास गरिरहेका बेला पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो जीवनका प्रेम, पारिवारिक सम्बन्ध, जिम्मेवारी र वियोगका अनुभव समेटिएको संस्मरण सार्वजनिक गरकी छिन् ।
७९ वर्षीया सोनियाको ‘बिलङ्गिङ ः अ जर्नी अफ लभ’ शीर्षकको पुस्तक मङ्गलबार सार्वजनिक भएको हो । इटालीको एउटा सानो गाउँमा जन्मिएर भारतको राजनीतिक शक्तिको केन्द्रसम्म पुगेकी उनले पुस्तकमा प्रेम, कर्तव्य र आफ्नो पहिचान खोज्दाको यात्रा समेटेकी छिन् ।
सन् १९४६ मा इटालीको क्याथोलिक परिवारमा जन्मिएकी सोनियाले सन् १९६५ मा क्याम्ब्रिजमा अध्ययनरत राजीव गान्धीलाई भेटेकी थिइन । उनीहरूबीचको प्रेम विवाहमा परिणत भयो । सन् १९६८ मा विवाह गर्दा सोनियाले भारतको स्वतन्त्रता आन्दोलनका बेला जवाहरलाल नेहरूले जेलमा बुनेको धागोबाट तयार पारिएको साडी लगाएकी थिइन ।
राजीवका हजुरबुबा नेहरू भारतका पहिलो प्रधानमन्त्री थिए भने आमा इन्दिरा गान्धीले सन् १९६६ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन। सन् १९८४ मा इन्दिराको हत्या भएपछि सोनियाले पारिवारिक राजनीतिक सङ्घर्ष नजिकबाट अनुभव गरिन् । उनले राजीवलाई राजनीतिमा प्रवेश गर्नबाट रोक्न आफूले निकै प्रयास गरेको र उनी प्रधानमन्त्री बन्ने प्रस्तावको विपक्षमा रहेको उल्लेख गरेकी छिन् ।
सन् १९९१ मा श्रीलङ्काको गृहयुद्धमा भारतको सैन्य हस्तक्षेपसँग जोडिएको आत्मघाती बम आक्रमणमा राजीवको हत्या भएपछि सोनिया छोरा राहुल र छोरी प्रियङ्काको पालनपोषणमा केन्द्रित भइन । तर, सन् १९९८ मा काङ्ग्रेस नेताहरूको आग्रहमा उनले कमजोर बनेको पार्टीको नेतृत्व सम्हालिन् ।
सन् २००४ को निर्वाचनमा काङ्ग्रेस विजयी भएपछि सोनियाले प्रधानमन्त्री बन्न अस्वीकार गर्दै अर्थशास्त्री मनमोहन सिंहलाई उक्त जिम्मेवारी दिइन । भ्रष्टाचारका विवादले सिंह नेतृत्वको सरकार घेरिएपछि सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) सत्तामा पुग्यो । त्यसयता मोदी नेतृत्वको भाजपाले आफ्नो प्रभाव विस्तार गर्दै आएको छ भने सोनियाको विदेशी जन्मलाई पनि राजनीतिक आलोचनाको विषय बनाइएको छ ।
सन् २०१९ को निर्वाचनमा काङ्ग्रेसको पराजयपछि मोदीले राहुललाई ‘राजकुमार’ भन्दै आलोचना गरेका थिए । पछिल्लो समय युवाहरूको नेतृत्वमा भएका विरोध प्रदर्शनले काङ्ग्रेसलाई पुनः राजनीतिक गति दिएको छ । राहुलले निर्वाचन आयोगले भाजपालाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरेको आरोप लगाउँदै प्रदर्शनको नेतृत्व गर्नुभएको छ । आयोगले भने उक्त आरोप अस्वीकार गरेको छ ।
सोनियाले द हिन्दू अखबारसँगको अन्तर्वार्तामा पछिल्लो १२ वर्षमा भारतको लोकतन्त्र र संस्थाहरूमा ठूलो क्षति पुगेको बताएकी छिन् । तर, मानिसहरूले त्यसलाई पहिचान गर्न थालेको र भारतका जनताले उचित शासन व्यवस्थामा फर्कने चाहना राख्ने विश्वास आफूमा रहेको उनले बताएकी छिन् ।

















प्रतिक्रिया