२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

काठमाडौं उपत्यकामा पनि सुरु भयो छठ पर्वको तयारी सुरु



काठमाडौं । छठ पर्वका लागि काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ ।

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ ।

गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिइ पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर व्रतालुले सूर्यको उपासना गर्छन् ।

गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्नसक्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।

“काठमाडौंमा पनि छठ मनाउने परम्परा बढ्दो छ । हामीले यसको तयारी अन्तिम चरणमा पु¥याएका छौँ । पाल टाँग्ने र सरसफाइ गर्ने काम भइरहेको छ ।”

अध्यक्ष सिंहले भने, “अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरिने छठको महत्व अपरम्पार छ । भाकल पूरा गर्न पनि छठको व्रत गरिन्छ । व्रतालुलाई सहज हुने वातावरण तयार पार्न हामी जुटेका छौँ ।”

काठमाडौंमा छठ पर्व मनाइने प्रमुख स्थानमा गौरीघाट र गुह्येश्वरी क्षेत्र, कमलपोखरी, बागमती नदी किनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्र रहेका छन् ।

त्यसैगरी विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुस्थित बाइसधारामा पनि छठ पूजा गर्ने गरिएको छ ।

काठमाडौं महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ ।

बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन हुँदै आएको छ ।

छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ । कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुनेछ ।

विशेषगरी तराई मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा विस्तार हुँदै गएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ११ : २७ बजे

वीरगञ्ज कारागारबाट कैदी फरार

वीरगन्ज । पर्सास्थित वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका

काठमाडौं उपत्यकामा पनि सुरु भयो छठ पर्वको तयारी सुरु

काठमाडौं । छठ पर्वका लागि काठमाडौं उपत्यकाका विभिन्न नदी किनार,

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर

पटका पड्काउँदा बालक घाइते

चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् ।

संरक्षणको अभावमा कान्तिताल

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण