काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
दिनको पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । शीर्ष स्थानको होडमा रहेका काठमाडौं र सुदूरपश्चिम दुवै टोली जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छन् ।
पाँच खेल खेलेको काठमाडौंले चार जित र एक हारसहित आठ अंक जोडेको छ । टोली हाल अंकतालिकाको दोस्रो स्थानमा छ । यता, छ खेल खेलेको सुदूरपश्चिमले चार जित र दुई हार बेहोर्दै समान आठ अंक जोडेको छ । सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ ।
आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्नेछ । दुवै टोली प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।
पाँच खेल खेलेको चितवनले दुई जित र दुई हार बेहोरेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ । चितवन पाँच अंकसहित अंकतालिकाको पाँचौँ स्थानमा छ ।
त्यस्तै, छ खेल खेलेको जनकपुरले दुई जित र चार हारसहित चार अंक जोडेको छ । जनकपुर अंकतालिकाको छैटौँ स्थानमा रहेको छ ।

















प्रतिक्रिया