२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

लामिछानेको ह्याट्रिकसहित ६ विकेट, १३२ रनमै समेटियो पोखरा



काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्स १३२ रनमै समेटिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको हो । पोखराका लागि ओपनर युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

सम्राले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८४ रन जोडे । धनञ्जय लक्षनले १५ बलमा एक चौका र एक छक्कासहित २२ रन बनाए भने सन्नी विकले ११ बलमा एक छक्काको मद्दतमा १२ रन जोडे ।

एक समय ७६ रनमा पाँच विकेट गुमाएको पोखराका लागि युवराज र धनञ्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । तर, त्यसपछि पोखराको इनिङ्स सम्हालिन सकेन ।

अर्जुन कुमालले एक, अर्जुन घर्तीले पाँच र विपिन खत्रीले पाँच रन बनाए । कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नाले खाता खोल्न सकेनन् । सागर ढकाल एक रनमा अविजित रहे ।

पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । उनले खेलको १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । उनले युवराज सम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार तीन बलमा आउट गरेका हुन् ।

यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए ।

सन्दीपले यसअघिका पाँच खेलमा एक विकेट मात्रै लिएका थिए । तर, पोखराविरुद्धको एकै खेलमा छ विकेट लिएर उनले आफ्नो बलिङ प्रदर्शनमा उल्लेखनीय सुधार गरेका छन् ।

सन्दीप एनपीएलमा एकै खेलमा छ विकेट लिने तेस्रो खेलाडीसमेत बनेका छन् । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा छ विकेट लिएका थिए ।

विराटनगरका लागि एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले एक-एक विकेट लिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  २ : ३३ बजे

रास्वपा सभापति लामिछानेद्वारा भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छठ मनाउन

लामिछानेको ह्याट्रिकसहित ६ विकेट, १३२ रनमै समेटियो पोखरा

काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै

एनपीएलमा सन्दीप लामिछानेको ऐतिहासिक ह्याट्रिक

काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग

पटका मनोरञ्जन कि अभिशाप ?

काठमाडौँ । वर्षभरि प्रतीक्षा गरेर कुरेको तिहार आयो, उज्यालो ल्यायो

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

टर्किए । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय