काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सडक सुरक्षा प्रणालीमा ठोस सुधार गर्नुपर्ने बताएका छन्।
मकवानपुरको भीमफेदीस्थित चिसापानीगढीमा बिहीबार छठ पर्व मनाउन परिवारसहित घर फर्किरहेका यात्रु सवार ईभी हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६ जना घाइते भएपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आङ्देम्बेले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका छन्।
उनले दुर्घटनाको निष्पक्ष छानबिन गरी सवारीसाधनको प्राविधिक अवस्था, निर्धारित यात्रु क्षमताको पालना तथा प्रहरी चेकपोस्टमा यात्रुको विवरण अद्यावधिक भए–नभएको विषयमा गम्भीर अनुसन्धान गर्नुपर्ने बताएका छन्।
‘नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो। सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन रु’ आङ्देम्बेले प्रश्न गरेका छन्।
उनले सडक दुर्घटनापछि छानबिन समिति गठन गर्ने तर त्यसका प्रतिवेदन सार्वजनिक नगर्ने सरकारी प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाएका छन्। यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनामा २० जनाको मृत्यु भएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनसमेत सार्वजनिक नभएको उनको भनाइ छ।
‘हरेक दुर्घटनापछि छानबिन समिति बनाउने, केही दिन चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ उनले भनेका छन्।
आङ्देम्बेले सडक दुर्घटनाका वास्तविक कारण पहिचान, दोषीमाथि कारबाही तथा आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन प्रभावकारी नीतिगत र संस्थागत व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनले सडक सुरक्षा प्रणालीलाई प्राथमिकतामा राख्दै सवारीसाधनको नियमित प्राविधिक परीक्षण, यात्रुको विवरण व्यवस्थापन र प्रहरी निगरानीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।


















प्रतिक्रिया