काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले बलिङ रोजेको काठमाडौंविरुद्ध सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । चार विकेट गुमाएर मात्र ८ रन जोडेको अवस्थामा क्रिजमा पुगेका दीपेन्द्रले सम्हालिएर ब्याटिङ गर्दै टोलीको स्कोर उकासेका थिए ।
उनले ५५ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए । त्यस्तै, थरिन्दु रत्नायकेले २६ र आरिफ शेखले १६ रनको योगदान दिए ।
सुदूरपश्चिमका ओपनर स्कट कुगेलेइन ६ र विनोद भण्डारी १ रनमा आउट भए । ब्रान्डम म्याकमुलेन र इशान पाण्डेले भने खाता खोल्न सकेनन् ।
काठमाडौंका लागि जहान खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् ।
क्वालिफायरमा पुग्ने सम्भावना कायम राख्न सुदूरपश्चिमलाई यो खेल जित्नैपर्ने दबाब छ । यो उसको लिग चरणको अन्तिम खेल हो । अर्कोतर्फ, काठमाडौंले जित हासिल गरे शीर्ष दुईमा स्थान सुरक्षित गर्दै सोझै क्वालिफायरमा प्रवेश गर्नेछ ।
















प्रतिक्रिया