२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु, शवको पर्खाइमा आफन्त



सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको पर्खाइमा छन् भने गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलो बलेको छैन ।

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको इभी बिहीबार बिहान करिब ६ः०० बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनाग्रस्त भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेको उक्त गाडीमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो ।

दुर्घटनाको खबर पाएदेखि नै मृतकका परिवार शोकमा छन् । छठ मनाउन घर फर्कने तयारीमा रहेका आफन्तको मृत्यु भएपछि सुन्दरपुर गाउँको उत्साह एकाएक शोकमा परिणत भएको छ । छठघाट निर्माण, गाउँघर सरसफाइ र पाहुनालाई निम्तो दिने चटारोमा रहेको गाउँ अहिले सुनसान बनेको छ ।

दुर्घटनामा छोरा र बुहारी गुमाउनुभएका प्रमोद यादवका अनुसार बुधबार साँझ छोरा गुड्डु यादवले गाउँका साथीभाइसँगै परिवार भोलिपल्ट छठ मनाउन घर आउन लागेको जानकारी गराउनुभएको थियो । तर, भोलिपल्ट बिहानै दुर्घटनाको खबरले परिवारमा बज्रपात परेको उहाँले बताउनुभयो ।

गुड्डु र उहाँकी श्रीमती गायत्री देवीका दुई छोरा सक्षम र सुजन पनि सोही गाडीमा सवार थिए । दुर्घटनामा पाँच वर्षीय सक्षम बाँच्न सफल हुनुभएको छ । दुर्घटनाका क्रममा बुबाले आफूलाई गाडीबाट बाहिर फालेको र त्यसपछि अरू कसैले सडकमा ल्याएकासम्म सम्झना रहेको सक्षमले बताउनुभयो । शरीरमा चोटपटक लिएर घर फर्कनुभएका उहाँलाई दुर्घटनामा आमाबुबाको मृत्यु भएको जानकारी छैन । अर्का छोरा सुजनको टाउको र मुखमा चोट लागेकाले काठमाडौँमा उपचार भइरहेको छ ।

भक्तपुरको इमाडोल आसपासमा ठेलामा तरकारी बेचेर गुड्डु र गायत्रीले दुई छोराको पालनपोषण गर्दै आउनुभएको थियो । दुर्घटनामा आमाबुबा गुमाएपछि दुवै बालक अभिभावकविहीन भएका छन् ।

दुर्घटनामा चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुरका एकै परिवारका छ जनाको मृत्यु भएको छ । अवधेश यादवकी श्रीमती ३५ वर्षीया पुनम यादव, छोरीहरू १० वर्षीया अनुकुमारी, सात वर्षीया दीक्षा र पाँच वर्षीया दीपिका तथा भाइहरू निकेश र सुधेश यादवको मृत्यु भएको हो । उहाँहरूका १४ महिनाका छोरा सुदीपको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, निरशु यादवका छोरा ४० वर्षीय राकेश राय र नाति १८ वर्षीय रोहन रायको पनि दुर्घटनामा मृत्यु भएको छ । सोही गाउँका अमिरी रायका छोरा २५ वर्षीय रामप्रवेश यादव, चन्देश्वर रायका छोरा २५ वर्षीय सुवोध राय र निरश रायका छोरा २५ वर्षीय रामदुलार रायको पनि ज्यान गएको छ । दुर्घटनामा सवारी चालक सर्लाहीको कविलासीका ३० वर्षीय रविशङ्करकुमार मण्डलको समेत मृत्यु भएको छ ।

एकै परिवारका छ जनाको मृत्यु भएपछि आफन्त निर्मलाको अवस्था सम्हालिनसक्नुभएको छ । उहाँ पटकपटक अचेत हुने गरेको र छिमेकीले सबैको उपचार भइरहेको भन्दै सम्झाउने प्रयास गरिरहेको स्थानीय विपुलकुमारले बताउनुभयो ।

दुर्घटनाले गाउँलेलाई १२ वर्षअघिको अर्को दुःखद् घटनाको पनि स्मरण गराएको छ । विसं २०७१ कात्तिक १८ गते मकवानपुरको चुरियामाईमा इँटा बोकेको ट्रक दुर्घटना हुँदा सर्लाहीको तत्कालीन औरही गाविसका सात जनाको मृत्यु भएको थियो । ट्रकभित्र लुकेर बसेका उनीहरू ट्रक पल्टिँदा इँटाले थिचिएका थिए । उक्त घटनामा सियाराम महतो, झगु महतो, जित पासवान, रामबली माझी, विशेष यादव, जङ्गीलाल महतो र नवलपुरका राजकुमार माझीको मृत्यु भएको थियो ।

स्थानीयवासीले दुर्घटनाका दोषीलाई कारबाही गर्न तथा पीडितपरिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेका छन् । घटनालगत्तै चक्रघट्ट गाउँपालिकाका अध्यक्ष कृष्ण यादवसहितको टोली मकवानपुर पुगेको थियो । उहाँले मृतकका परिवारलाई न्याय दिलाउन पहल भइरहेको बताउनुभयो ।

अध्यक्ष यादवका अनुसार शव परीक्षणपछि मृतकका शव गाउँ ल्याइनेछ । दुर्घटनामा गाउँका १३ जनाको मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक घोषणा गरेको छ । साथै मृतकको दाहसंस्कारका लागि प्रतिपरिवार रु ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

यता, पीडितपरिवारले राहतलगायतका विषयमा स्पष्ट व्यवस्था नभएसम्म शव नबुझ्ने बताएका छन् । शव परीक्षणपछि आफन्तको शव गाउँ ल्याउने प्रतीक्षामा रहेका परिवारले न्याय र उचित राहतको माग गरेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ४ : ३४ बजे

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका लागि नियुक्त भएका चार जना न्यायाधीशले

भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु, शवको पर्खाइमा आफन्त

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एकै

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं । काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतलाई एग्रिमो, नियुक्तिको बाटो खुल्यो

काठमाडौँ । भारत, चीन र इजरायलका लागि नेपाल सरकारले प्रस्ताव

उद्योगमन्त्री साह र भारतीय समकक्षी पीयुष गोयलबीच भेटवार्ता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका