काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई भ्रमण सकेर स्वदेश फर्किएका छन् । विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन यूएई गएका उनी भ्रमण पूरा गरी नेपाल फर्किएका हुन् ।
गृहमन्त्री गुरुङ कात्तिक २७ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका थिए । उनको भ्रमण टोलीमा गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्ले र स्वकीय सचिव जेम्स कार्की सहभागी थिए ।
विश्वभरका प्रहरी प्रमुख तथा सुरक्षा विज्ञहरू सहभागी हुने विश्व प्रहरी शिखर सम्मेलनमा सुरक्षा चुनौती, प्रविधिको प्रयोग र प्रहरी सेवाको आधुनिकीकरणलगायत विषयमा छलफल हुने गरेको छ । यसपटकको सम्मेलनमा भने नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सहभागी भएनन् ।
नेपाल प्रहरीको तर्फबाट एसएसपी ऋषिराम कँडेलको नेतृत्वमा डीएसपी गोविन्द राउत र इन्स्पेक्टर देवराज काफ्ले कात्तिक २९ गते यूएई पुगेका थिए ।
नोभेम्बर १६ देखि १८ अर्थात् कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म सञ्चालन भएको सम्मेलनमा सहभागी हुनुअघि कात्तिक २८ गते गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली दूतावासको भ्रमण गरी त्यहाँका अधिकारीहरूसँग छलफल गरेका थिए । सोही दिन उनले यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग पनि भेटवार्ता गरेका थिए ।
गृहमन्त्रीको सचिवालयका अनुसार उक्त भेटमा सुरक्षा प्रविधि, ‘फेसलेस पुलिसिङ’ र बूढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको सम्भावित लगानीका विषयमा छलफल भएको थियो । यद्यपि, ऊर्जा मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने बूढीगण्डकी आयोजनामा लगानीको विषय गृहमन्त्रीको भ्रमणका क्रममा उठाइएपछि भ्रमणको प्राथमिकता र छलफलका विषयलाई लिएर प्रश्न उठेको प्रहरी अधिकारीहरूको भनाइ छ ।
















प्रतिक्रिया