काठमाडौं । नागढुंगा-मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।
प्रशासनका अनुसार अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुनेछ । सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा यातायात प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गर्ने निर्णय गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा २०८३ मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिने उल्लेख छ ।
उक्त अवधिमा सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने प्रशासनले जनाएको छ । सडक बन्द हुने समयलाई ध्यानमा राखी वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्र यात्रा गर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।
जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम सम्पन्न भएपछि सडक सञ्चालनबारे थप सूचना जारी गरिने प्रशासनले जनाएको छ ।
















प्रतिक्रिया