काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक आज मंसिर ८ गते मंगलबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ ।
केन्द्रीय कार्यालयले जारी गरेको सूचनामा बैठकका विस्तृत कार्यसूची भने सार्वजनिक गरिएको छैन । यद्यपि, १५ औँ महाधिवेशनपछि पार्टीका सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेश अधिवेशनको तयारी र आगामी कार्यतालिकाबारे छलफल हुन सक्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, मंसिरभित्रै सम्पन्न गर्ने भनिएका जिल्ला तथा प्रदेश अधिवेशन, देशव्यापी जनसम्पर्क तथा पार्टीका नीति र कार्यक्रमको प्रचार अभियानका विषयमा पनि बैठकमा छलफल हुन सक्ने देखिन्छ ।
समसामयिक राजनीतिक विषय र पार्टीको आगामी रणनीतिबारे समेत छलफल हुन सक्ने भएकाले बैठकलाई चासोका साथ हेरिएको छ ।
















प्रतिक्रिया